देश

प्रदेशका महत्वपूर्ण स्थानमा ठूला आकारका राष्ट्रिय झण्डा राखिने

विराटनगर, भदौ १६–१ नम्बर प्रदेश सरकारले संविधान दिवसको दिन पारेर आगामी असोज ३ गते प्रदेशका विभिन्न महत्वपूर्ण स्थानमा ठूलो आकारको राष्ट्रिय झण्डा राख्ने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशका विभिन्न महत्वपूर्ण स्थानहरु इलामको कन्याम र श्रीअन्तु, झापाको दमक, काँकडभिट्टा र केचना, सुनसरीको इटहरी, कोशी ब्यारेज र धरान, मोरङको विराटनगर एयरपोर्ट र रानी, सोलुको लुक्ला र सगरमाथाको बेसक्याम्पलगायतका स्थानमा राष्ट्रिय झण्डालाई ठूलो आकारको स्थायी रुपमा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

यस्तै बैठकले स्पेनको राजधानी मेड्रिटमा आगामी सेप्टेम्बर २७ बाट सुरु हुने एक्स्पोटुरलमा मुख्यमन्त्रीको नेतृत्वमा ६ सदस्यीय टोलीलाई भ्रमणमा जान स्वीकृति प्रदान गरेको कार्कीले जानकारी दिए । बैठकले सुनसरीको इटहरीको चोकबाट पूर्व पश्चिम राजमार्गमा दुईवटा आकाशे पुल निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ ।

बैठकले प्रदेशसभा सचिवालय, र प्रदेश लेखानियन्त्रण कार्यालयका कर्मचारीलाई खाना, खाजा तथा प्रोत्साहन सुविधा दिने निर्णय पनि गरेको छ । यस्तै उद्योग, वन तथा पर्यटन मन्त्रालयको बजार अनुगमनसम्बन्धी नियमावली २०७६ र प्रदेश नीजि तथा साझेदारी फम दर्ता नविकरण सम्बन्धी विधेयकको अवधारणा तयार पार्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

बैठकले धनकुटामा आदिवासी जनजाति संग्रहालय स्थापना गर्न आर्थिक सहयोग गर्ने सामाजिक विकास मन्त्रालयको प्रस्ताव र जनतासँग मुख्यमन्त्री कार्यक्रम संचालन कार्यविधि २०७६ पारित गरेको छ ।

Featured