देश

मोरङमा पनि स्वास्थ्य बिमा दर्ता सुरु

विरामटनगर, भदौ १६–मोरङमा आइतबारदेखि स्वास्थ्य बिमा दर्ता कार्यक्रम सुभारम्भ भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई स्वास्थ्य बिमा कार्ड प्रदान गरेर कार्यक्रमको सुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले अन्य जिल्लाहरुमा स्वास्थ्य बिमाप्रति कम आकर्षित भएको समाचार आएको भन्दै मोरङमा भने तदारुकताका साथ यो कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउन प्रदेश सरकार लाग्ने बताए । उनले यो कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न दर्ता सहयोगीहरुलाई आग्रह गरे । उनले भने,‘अन्य ठाउँमा बिमा प्रभावकारी रुपमा अघि नबढेको खबर प्राप्त भएका छन् । यो हाम्रै लागि हो । त्यसैले दर्ता सहयोगीहरुले राम्रो काम गर्नहुन्छ भन्ने प्रदेश सरकारको विश्वास छ ।’

यस्तै कार्यक्रममा बोल्दै कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. गुणराज लोहनीले कोही पनि व्यक्तिले स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस र उपचार अभावमा मृत्युवरण गर्नु नपरोस् भनी ल्याइएको स्वास्थ्य बिमा कार्यक्रमले मोरङबासीहरु लाभान्वित हुने बताए ।
मोरङमा रहेको १० लाख जनसंख्यामा मध्ये आगमी आर्थिक बर्षसम्म ४ लाखको बिमा गरिने बिमा बोर्डले जनाएको छ । ५ जनाको परिवारले ३५ सय रकम तिरेमा १ लाख सम्मको सेवा प्राप्त गर्न सक्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक,कुष्ठरोगका परिवार, एमडीआर टीबी भएकाको परिवार, एचआइभी संक्रमितको परिवार र पूर्णअपाङ्गता भएका परिवारले निःशुल्क रुपमा १ लाख सम्मको स्वास्थ्य बिमाबाट उपचार गराउन सक्ने कार्यक्रममा जानकारी दिइएको थियो ।
स्वास्थ्य बिमा संचालनका लागि १ सय ५९ जनालाई ३ दिने दर्ता सहयोगी तालिम प्रदान गरी कार्यक्रम संचालन गरिएको स्वास्थ्य बिमा प्रदेश सहसंयोजक दुर्गा आचार्यले जानकारी दिए ।