खेलकुद विदेश

आर्सनल र टोटनह्याम बराबर, उल्भ्समाथि एभर्टनको जित

काठमाडौं, भदौ १६–इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्यामले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलको पहिलो हाफमै २ गोल गरेर पनि टोटनह्याम अंक बाँढ्न बाध्य भयो ।

क्रिष्टियन इरिक्सनको गोलमार्फत १० औं मिनेटमा अग्रता बनाएको टोटनह्यामले ४० औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारेका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा एलेक्जेन्डर लाकाजेटीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । आर्सनलका लागि औवामियाङले ७१ औं मिनेटमा बराबरी गोल फर्काए ।

त्यसपछि थप गोल हुन सकेन र खेल २–२ गोलको बराबरीमा सकियो । आर्सनल ७ अंकसहित पाँचौ स्थानमा छ भने टोटनह्याम ५ अंकसहित नवौं स्थानमा पुगेको छ । गएराति नै भएको अर्को खेलमा एभर्टनले उल्भ्सलाई ३–२ गोल अन्तरले हरायो । एभर्टनका लागि रिचार्लिसनले २ र एलेक्स इओबीले १ गोल गरे । उल्भ्सका लागि रोमेन सइज र राहुल जेमिनेजले एक एक गोल गरेका थिए ।

Featured