देश

गाईगोरु मरेको बिषयमा राप्रपाको बैठकमा छलफल

काठमाडौँ, भदौ १५ं –आइतबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठकमा गाईगोरु मृत भेटिएको विषय उठेको छ। नेपालगञ्जका मेयर धवलशम्शेर राणाले घटनाबारे पार्टी पदाधिकारीलाई जानकारी गराएका हुन्। मेयर राणा राप्रपाका महामन्त्री पनि हुन्।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले गृह मन्त्रालय र नेपालगञ्ज उपमहानगरपालिकाले गठन गरेको छुट्टाछुट्टै छानविन समितिको प्रतिवेदन आएपछि यस घटनाको विषयमा पार्टीले आवश्यक निर्णय लिने बताएका छन्।

गाईगोरु ट्रकभित्रै मरेको दाबी
नेपालगञ्ज उपमहानगरपालिका मेयर धवलशम्शेर राणाले दैलेख पठाएका गाईगोरु ट्रकभित्रै मरेको बताएका छन्। उनका अनुसार लामो समय काञ्जीहाउसमा राखिएका गाईगोरु कमजोर भएकाले ट्रकभित्रै मरेको हो।

दैलेखको शिरस्थान धार्मिक क्षेत्रका लागि भन्दै पठाइएका २ सय ९० गाईगोरु तथा बाच्छाबाच्छीमध्ये २४ वटा सुर्खेतको कटकुवा जंगलमा मृत अवस्थामा भेटिएका थिए। अरु १४४ वटा गाईगोरु पनि त्यहीँ अलपत्र छाडिएको थियो।

गाईगोरु मरेको बिषयमा नेपालगञ्जका मेयर राणाको आलोचना भइरहेको छ। गौहत्या गरिएको आशंका भइरहेको अवस्थामा मेयर राणाले भने गौहत्या नभएको दाबी गरेका छन्।

Featured