राजनीति

समाजवादी पार्टीको मधेस प्रदेश समितिले तोक्यो आठै जिल्लाको इन्चार्ज

जनकपुर, भदौ १५–समाजवादी पार्टीको मधेस प्रदेश समितिले आठै जिल्लाको इन्चार्ज तोकेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा बसेको प्रदेश कमिटीको बैठकले इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो ।

बैठकबाट पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा क्रमशः सिंहासन साह, रामबाबु यादव, वृजकुमार यादव, राजेश सिंह, सरोज सिंह कुशवाहा, रामअशिष यादव, बादल यादव र सत्यनारायण यादवलाई इन्चार्ज तोकेको छ । महोत्तरीको इन्चार्ज तोकिएका कुशवाहा प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री छन् भने धनुषाको इन्चार्ज तोकिएका यादव सांसद तथा प्रदेश २ मा संसदीय दलका उपनेता हुन् ।

यस्तै बाराको सहइन्चार्जमा उषा यादव, रौतहटको सह इन्चार्जमा वीरेन्द्र यादव, सर्लाहीको सह इन्चार्जमा पञ्चराम लो. तामाङ, महोत्तरीको सह इन्चार्जमा रमेश यादव, सिरहाको सह इन्चार्जमा मनोज सिंह र सप्तरीको सह इन्चार्जमा रामाकान्त चौधरीलाई चयन गरिएको छ ।

पर्सा र धनुषाका सहइन्चार्ज भने बैठकले तोक्न सकेन । नाम बैठकमा पेस गरिए पनि विवाद भएपछि पछि टुंगो लगाउने सहमति बनेको एक पदाधिकारीले बताए । बैठकबाट प्रदेशस्तरमा विभिन्न ११ विभागसमेत गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। पार्टी स्कूल तथा प्रशिक्षण विभागमा रामपृत पासवान, स्थानीय तह विभागमा सुशिल कुमार यादव, कार्यालय व्यवस्थापन समितिमा उर्मिला साह, संगठन विभागमा शम्भु झा, प्रचारप्रसार तथा प्रकाशन विभागमा दिनेश यादव र युवा तथा विद्यार्थी विभागमा ज्ञानेन्द्र यादवलाई तोकेको छ ।

यस्तै, कृषि तथा सहकारी विभागमा रामकैलास यादव, आर्थिक विभागमा रेणु यादव, महिला विभागमा उषा यादव, समाजिक सेवा विभागमा रामअशिष यादव र ट्रेड युनियन विभागमा ओमबाबु गुप्ता प्रमुख भएका छन् ।

यस्तै, बैठकले लक्ष्मी महतो (महोत्तरी, चन्देश्वर महतो (धनुषा), रामनरेश यादव (महोत्तरी), अशोककुमार यादव (सर्लाही), अब्दुल कलाम फुलबाबु (रौतहट) र मोजेबुल रहमान (महोत्तरी)लाई प्रदेश कमिटीमा मनोनीत गरेको छ। बैठकमा प्रदेश अध्यक्ष विजयकुमार यादवले समसामयिक विषयमा प्रतिवेदन प्रस्तुत गरे । उनले गुट उपगुटमा नअल्मिन सबै पदाधिकारीसँग आग्रह गरे । पार्टी अध्यक्ष उपेन्द्र यादवले संगठन विस्तारमा जुट्न निर्देशन दिए ।

Featured