देश

उद्यमी महिलालाई प्रोत्साहन गर्न विशेष तालिम

काठमाडौं, भदौ १५–महिलाहरुमा उद्यमशीलता विकास गर्ने तथा सूचना प्रविधि र सामाजिक सञ्जालको प्रयोगमार्फत उत्पादनको बजारीकरण गर्ने उद्देश्यले तार्केश्वर नगरपालिका विशेष तालिम कार्यक्रम सञ्चालन गरिएको छ ।

महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको स्वयंसेवी अभियान नेपालले ‘महिला उद्यमशीलता, सूचना प्रविधि र अनलाइन बजार प्रवर्द्धन तथा सिप विकास तालिम’ सञ्चालन गरेको हो । यो तालिमबाट उद्यमशीलतामा महिलाको आकर्षण बढ्नुका साथै उद्यमी महिलाहरुलाई थप प्रोत्साहन पुगेको आयोजकको दाबी छ ।

तालिम स्वयंसेवी अभियान नेपाल र कोरियाको ‘बेटर वर्ल्ड’ नामक संस्थासँगको समन्वयमा सामसङ कम्पनीको कर्मचारी र स्वयंसेवकद्वारा भदौ १ देखि ५ गतेसम्म सञ्चालन भएको थियो ।

तालिम तार्केश्वर नगरपालिका वडा नं. २ र ३ का महिलालाई प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । तालिममा प्रशिक्षार्थी महिलाले उद्यमशीलताको ज्ञान, सूचना प्रविधिको प्रयोगमार्फत उत्पादनको बजारीकरण र सामाजिक सञ्जालमार्फत अनलाइन नेटवर्किङ विकासको ज्ञान र सिपको विकास गर्ने अवसर प्राप्त गरे । यो तालिमबाट यस क्षेत्रका आयआर्जनमा संलग्न ३० महिला प्रत्यक्ष लाभान्वित भएका आयोजक संस्थाको दाबी छ ।