देश

मुख्य बैंकिङ प्रणालीमा साइबर आक्रमण नभएको राष्ट्र बैंकको प्रष्टोक्ति

काठमाडौं, भदौ १५–नेपाल राष्ट्र बैंकले नेपालको मुख्य बैंकिङ प्रणालीमा साइबर आक्रमण नभएको स्पष्ट पारेको छ । १८ बैंक तथा वित्तीय संस्थाले चलाएको नेपाल इलोक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)माथि भएको आक्रमणलाई लिएर निक्षेपकर्ता चिन्तित देखिएको भन्दै कुनै एप्लिकेसनमा मात्रै आक्रमण भएकाले आत्तिन नपर्ने बताएको हो । यसबारे राष्ट्र बैंकमा आइतबार बिहान छलफल भएको थियो ।

छलफलपछि राष्ट्र बैंकका अधिकारीले कुनै एप्लिकेसनमा मात्रै साइबर आक्रमण भएको बताएका छन् । एटीएम सिस्टम ह्याक गरी केही बैंकबाट ह्याकरले पैसा चोरेका थिए । यसरी पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।लक्ष्मप्रपन्न निरौला, प्रवक्ता, नेपाल राष्ट्र बैंक राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बैंकको मुख्य प्रणालीमा आक्रमण नभएको बताए । ‘यो आक्रमणलाई कोर बैंकिङ प्रणालीमा भएको आक्रमणका रुपमा नबुझौं, कुनै एप्पलिकेसनमा भएको हो ।’ के कति पैसा चोरी भएको भन्ने विषयमा अनुसन्धान चलिरहेको उनले बताए ।

‘निक्षेपकर्ता आत्तिनुपर्दैन’
केन्द्रीय बैंकका प्रवक्ता निरौलाले ह्याकरले केही एटिएम मेसिनबाट मात्र पैसा झिकेकाले निक्षेपकर्ताले चिन्ता लिन नपर्ने बताए । ‘कुनै पनि खातावालाले चिन्ता लिनुपर्दैन,’ निरौलाले भने, ‘कसैको पैसामा असर परेको छैन ।’

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले खराब सफ्टवेरमार्फत् सञ्चालित एटिएममा आक्रमण भएको हुनसक्ने बताए । ‘यसबारे बुझ्ने काम भइरहेको छ, उनले भने, ‘हामीले आफ्नो ठाउँबाट प्रहरीले आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेका छौं ।’