देश

भारतमा बैंक ह्याक गरेर दुई दिनमा निकालिएको थियो ९४ करोड

काठमाडौँ, भदौ १५–चिनियाँ ह्याकरले नेपालका बैंक ह्याक गरेर पैसा चोरेजस्तै घटना गतवर्ष भारतमा पनि भएको थियो । सन् २०१८ को अगस्त ११ र १३ मा भारतको पुनेमा रहेको कसमस बैंकबाट ह्याकरहरुले ९४ करोड चोरी गरेका थिए ।

ह्याकरहरुले क्यानाडामा एटीएम क्लोनिङ गरेका थिए । तर, यो सबै चोरी भारतको एटीएमबाट मात्र भएको थिएन । त्यसबेला भारतीय एटीएमहरुबाट अगस्त ११ मा झण्डै साढे २ करोड चोरी भएको थियो भने, ७८ करोड विभिन्न २८ देशमा एटिएमहरुबाट चोरी भएको थियो । जसमा क्यानाडा हङकङलगायतका देशका एटीएम थिए ।

त्यसलगत्तै अगस्त १३ मा ह्याकरहरुले हङकङको बैंकबाट झुटा कारोबार गरी १३ करोड ९२ लाख निकालेका थिए । भिजा र रुपे डेविड कार्डको पेमेन्ट गेटवेमा ‘मालवेयर’ मार्फत आक्रमण गरी कार्डका क्लोन बनाइएका थिए भने बैंक ग्राहकहरूको डेटा चोरी गरिएको थियो ।

यसरी चोरी गर्न १५ हजार पटक कारोबार भएको थियो । भिजा अन्तर्रा्ष्ट्रिय पेमेन्ट गेटवे हो भने रुपे भारतको आफ्नै पेमेन्ट गेटवे हो । रुपे नेसनल पेमेन्ट करपोरेसन अफ इन्डियाले सञ्चालन गर्छ । डिस्कभर फानान्सियल र जेसीबीसँगको सहकार्य गरेको रुपेबाट विश्वभरीका एटीएममार्फत कारोबार गर्न सकिन्छ ।

Featured