देश

प्रधानमन्त्री ओलीको उपचार बुधबार पूरा हुने

काठमाडौं, भदौ १५-आफ्नो मिर्गौला उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार बुधबार पूरा हुने भएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बुधबार उनको उपचार प्रक्रिया पूरा हुने जानकारी दिए।

सिंगापुरमा ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गरिँदै आएको छ। अहिलेसम्म पाँचौ चरणको प्लाज्मा फेरेसिस पूरा भइसेकेको छ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलिप शर्माका अनुसार सोमबार छैठौं र बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उनको उपचार प्रक्रिया पूरा हुनेछ।

प्रेस सल्लाहकार अर्यालले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन्। उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको अर्यालले जानकारी दिएका छन्।

‘सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रक्रियाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ’, प्रेस सल्लाहकार अर्यालले ट्विट गरेका छन्’, ‘प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार भोलि सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ। प्रमको स्वास्थ्य अवस्था सामान्य छ।’

बुधबार सातौँ चरणको प्लाजा फेरेसिसपछि प्रधानमन्त्रीको सवस्थ अवस्थाको टुंगो लाग्ने र त्यसपछि थप अस्पताल बस्नु पर्ने नपर्नेबारे थाहा हुने बताइएको छ।

१२ वर्षअघि मिर्गोलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली यही भदै ५ गते उपचारका लागि दोस्रो पटक सिंगापुर गएका थिए। उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भदौ ६ गतेबाट उपचार भइरहेको छ।