देश

चिनियाँ गिरोहले एटीएमबाट पैसा चोरेपछि अधिकांश बैंकका एटीएम डाउन

काठमाडौं, भदा १५– चिनियाँ गिरोहले नबिल बैंकको एटीएमबाट पैसा चोरेपछि अधिकांश बैंकका एटीएम डाउन गरिएका छन् । नेप्से पेमेन्ट गेटवे प्रयोग गरेका बैंक तथा वित्तीय संस्थाले सुरक्षा र अनुसन्धानका लागि भन्दै एटीएम डाउन गरेका हुन् ।

जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले बैंकहरूले सुरक्षाका लागि एटीएम सर्भर डाउन गरेको बताए । ‘अहिले प्रहरी, बैंक र नेप्सेले समेत अनुसन्धान गरिरहेका छन्,’ उनले भने, ‘अनुसन्धान भइरहँदासम्म डाउन गर्नैपर्ने हुन्छ ।’ कुन कुन अकाउन्टबाट कतिवटा ट्रान्जेक्सन भएका छन्, कहाँ कहाँबाट भएका छन् भन्ने स्पष्ट रिपोर्ट नआएसम्म जोखिम रहने सीईओ कुँवरले जानकारी दिए ।

जनता बैंकले आफ्ना ग्राहकका कार्डमात्र चल्न मिल्ने बनाएको छ । अरू बैंक तथा वित्तीय संस्थाका कार्ड नचल्ने बनाइएको उनले बताए । एनआईसी एसिया बैंकका चिफ बिजनेस अफिसर अर्जुनराज खनियाले एटीएमबाट रकम चोरी भएपछि नेप्स पेमेन्ट गेटवे प्रयोग गरेका सबै बैंकले एटीएम डाउन गरेको जानकारी दिए ।

‘अरुले पनि डाउन गरेका हुनसक्छन्,’ उनले भने, ‘अन्यत्रबाट पनि झिकिएको हुनसक्ने आशंकामा अनुसन्धानका लागि बैंकहरूले एटीएम डाउन गरेका हुन् ।’ एटीएम डाउन नगर्दा थप जोखिम हुनसक्ने उनले बताए । नेप्सेको सफ्टवेयर ३५(४० वटा वित्तीय संस्थाले गरेको बुझिएको छ ।

गए राति प्रहरीले नबिल बैंकको एटीएमबाट पैसा चोर्दाचोर्दै पाँच जना चिनियाँ नागरिकलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ परेकाबाट प्रहरीले १ करोड २६ लाख नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद गरेको छ । पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured