खेलकुद विदेश

स्पेनिस ला लिगा : ओसासुनासँग बराबरीमा रोकियो बार्सा

एजेन्सी, भदौ १५–यसै सिजनमा शीर्ष डिभिजनमा बढुवा भएको ओसासुनासँग स्पेनिस ला लिगाकै बलियो टोली बार्सिलोनाले बराबरी खेलेको छ । गिनीका १६ वर्षीय स्ट्राइकर अनसु फातीले व्यावसायिक फुटबलको डेब्यु खेलमै गोल गरेपछि बार्सिलोनाले संघर्षपूर्ण बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा ओसासुनाले सुरुवातमै अग्रता लिएको थियो । ब्रेन्डन थोमसको पासमा रोवर्टो टोरेसले हेडमार्फत गोल गरी घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै नेल्सन सेमेडोको स्थानमा फातीलाई व्यावसायिक फुटबलमा डेब्यु गराइएको थियो । बार्सिलोनाको बी टिमबाट खेलिरहेका फातीले सिनियर टिममा डेब्यु गरेको ६ मिनेटमै गोल गरेपछि बार्सा बराबरीमा पुगेको थियो ।

६४औं मिनेटमा अर्का सब्स्टिच्युड स्ट्राइकर आर्थरले गोल गरेपछि बार्सिलोनाले अग्रता लियो । तर, ८१औं मिनेटमा ओसासुनाले पेनाल्टीमार्फत गोल गरी घरेलु मैदानमा बार्सिलोनालाई बराबरीमा रोक्न सफल भयो ।

पहिलो खेलमा एथ्लेटिको विल्वाओसँग पराजित भएको बार्सिलोनाले दोस्रो खेलमा रियल बेटिसमाथि ५–२ को जित निकालेको थियो ।

गोलसँगै १६ वर्ष ३०४ दिनका फाती ला लिगा इतिहासमै कम उमेरमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि फ्याब्रिस ओलिंगाले १६ वर्ष ९८ दिन र इकर मुनिइनले १६ वर्ष २८९ दिनको उमेरमा गोल गरेका थिए ।

Featured