देश

हुलाकी सडक निर्माणको गति सुस्त

पर्सा, भदौ १५–सरकारले उच्च प्राथमिकतामा राखेको हुलाकी सडक निर्माणको गति अझै उस्तै छ । सरकारले गत आर्थिक वर्षको बजेटमार्फत नै तराईरमधेसको लाइफलाइनका रुपमा उल्लेख गरेर ठूलो बजेट छुट्याएको यो सडक कागज र भाषणमा मात्र बढी प्राथमिकतामा पर्ने गरेको छ ।

समयमा सडक निर्माण सम्पन्न गर्न न ठेकेदार कम्पनी गम्भीर देखिएको छ न त सरकारी निकायबाटै प्रभावकारी अनुगमन हुने गरेको छ । राष्ट्रिय गौरवको यो आयोजना कहिले भारतीय पक्ष त कहिले स्थानीयको अवरोधको सिकार बन्दै आएको छ । आयोजनाको काममा बिजुलीका पोल, ठूला रुखलगायत पनि बहाना बन्ने गरेका छन् ।

भारतले लामो समय झुलाएपछि नेपाल सरकारले आफैं बनाउन कम्मर कसेको हुलाकी सडक विभिन्न खण्डमा विभाजन गरी निर्माणका लागि ठेक्का दिइएको छ । तर, कुनै खण्ड पनि समयमै सकिने गरी काम अघि बढेको छैन ।

वीरगन्ज–ठोरी खण्डको अवस्था पनि उस्तै छ । वीरगन्ज–ठोरी खण्डको चमरीहोलदेखि चौतारासम्म निर्माण थालेको १७ महिनामा ३२ प्रतिशतमात्र काम सकिएको छ । ३० किलोमिटर लामो सो खण्डमा ३० महिनामै सक्ने गरी ठेकेदार कम्पनी कालिका बानियाँ जेभीले ठेक्का सकारेको छ ।

ठेक्का अवधि सकिन १३ महिना बाँकी हुँदा ६८ प्रतिशत काम बाँकी नै छ । ठोरी गाउँपालिकाको चमरीहोलदेखि २२ किलोमिटर सडकखण्डमा कल्भर्ट निर्माण, माटो फिलिङ र ग्राबेल भर्ने काम सकिएको छ । ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै पन्छिँदै गरे पनि सरकारी अनुगमन फितलो हुँदा सहजै उन्मुक्ति मिल्ने गरेको स्थानीय आरोप लगाउँछन् ।

ठेकेदार कम्पनीका फिल्ड इन्चार्ज उद्दव न्यौपाने साविक ठोरी गाविसमा सडक डिपिआरको विषयमा स्थानीय विभाजित हुँदा सम्बद्ध भारतीय पक्षको निर्देशनमा ८ किलोमिटर सडक निर्माण रोकिएको बताए । ‘अहिले ग्रेडिङ गरिएको खोलाको किनारबाट नै सडक निर्माण हुने निश्चित भएको छ,’ उनले भने, ‘अब एक साताभित्रै काम सुरु हुन्छ ।’

ठेक्का अवधि घर्किंदै जाँदा निर्माण कम्पनीले सडक कालोपत्रे सुरू गरेको छैन । पाँच किलोमिटर कालोपत्रे गर्ने तयारी भइरहेको फिल्ड इन्चार्ज न्यौपानेले बताए । ‘पहिलो चरणमा चमरीहोलदेखि विजयबस्तीसम्म ५ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भएको छ,’ उनी भन्छन्, ‘तीन किलोमिटर भने दसैंअगाडि नै कालोपत्रे गरिसक्छौं ।’

ठेकेदार कम्पनीका फिल्ड इन्चार्ज न्यौपानेले कालोपत्रे गर्न तयार पारेको तीन किलोमिटर सडक छेउमा रहेको बिजुलीको पोल विद्युत प्राधिकरणले समयमा नहटाउँदा ढिलाइ भएको आरोप लगाए । ‘अब भने प्राधिकरणले पोल हटाइहाल्ने बताएकाले दसैंअघि कालोपत्रे भइसक्छ,’ उनले भने ।

कम्पनीले विजयबस्तीसम्म कालोपत्रे गर्न तयारी पारेको दाबी गरिरहँदा करिब ६ सय मिटर खण्डमा माटो भर्नेबाहेक अरु काम भएको छैन । ओरिया पुलदेखि करिब २ सय मिटर पूर्व र मालीबस्तीमा करिब ४ सय मिटर सडक खण्डमा मुआब्जा विवादका कारण सडक निर्माण ढिलाइ भएको हो । ठेकेदार कम्पनीले भने विवादित ठाउँलाई छोडेर भए पनि कालोपत्रे अघि बढाउने तयारी गरेको बताएको छ ।

विजयवस्तीदेखि वीरेखोलासम्म भने ग्राबेल भर्ने काम सकिएको छ । वडा नम्बर ४ को निर्मलबस्ती र वडा नम्बर ३ को बुद्धनगरमा सडक निर्माण स्थलमा रहेका खानेपानीको पाइपका कारण निर्माण कार्य अवरुद्ध भएको इन्चार्ज न्यौपाने बताए । ‘खानेपानीको पाइपको विषयमा ठेक्का सम्झौतामा उल्लेख नभएकाले समस्या भएको हो,’ उनले भने, ‘त्यसबारेमा भारतीय पक्ष र नेपाल सरकारलाई अवगत गराइसकेकाले अब चाँडै काम थाल्नेछौं ।’ वडा नम्बर ३ कै रामनगरमा सडकको बीच भागमा रुख परेकाले निर्माणमा समस्या भएको न्यौपानेले बताए ।

राष्ट्रिय गौरवका र उच्च प्राथमिकताका आयोजना निर्माणमा साना–साना अवरोध हुने गरे पनि तिनको निराकरणका लागि ठेकेदार कम्पनी र सरकारी निकायसमेत गम्भीर नबन्ने गरेको पूर्वाधारविद्हरू बताउँछन् । उनीहरूका अनुसार अन्य ठोस कारण भन्दा पनि बहाना बनाएर मिलेमतोमै काममा ढिलाइ गर्ने गरिएको हुन्छ ।

Featured