विदेश

पाकिस्तानमा यात्रु बोकेको बस नदीमा खस्दा २४ जनाको मृत्यु

एजेन्सी, भदौ १४–यात्रु बोकेको बस नदीमा खस्दा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ । देशको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार नदीमा खसेको बसमा रहेका सबै जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये १५ पुरुष, पाँच महिला र चार बालबालिका रहेका छन् । उनीहरु पारिवारिक कार्यक्रममा सहभागी हुन जाँदै गरेको बेला दुर्घटना भएको कोहिस्तानका जिल्ला प्रहरी अधिकृत राजा अब्दुल साबुरलाई उदृत गर्दै पाकिस्तानी मिडियाले जनाएका छन् ।

जिल्ला सदरमुकामदेखि निकै दुर्गम क्षेत्रमा पर्ने ठाँउमा शुक्रबार राति दुर्घटना भएको हो । प्रहरीलाई भने धेरै ढिला मात्रै थाहा भएको थियो । दुर्गम क्षेत्र भएको र प्रहरीले ढिला थाहा पाएकाले उद्धार कार्यमा पनि ढिला भई कसैलाई बचाउन नसकिएको प्रहरीको भनाइ छ ।

जिल्ला सदारमुकाम डास्सुदेखि डारा बाङ्रोतर्फ जाँदै गरेको बेला दुर्घटना भएको जनाइएको छ । प्रहरी र उद्धारकर्मीहरुको टोली घटनास्थलमा पुग्दा अँधेरो भएकाले उद्धार कार्यमा कठिनाई भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

Featured