देश

पोखरामा डेंगु संक्रमितको संख्या साढे चार सय पुग्यो

पोखरा, भदौ १४–पोखरामा डेंगु नियन्त्रणको सरकारी प्रयास असफल भएको छ । एक महिनाभित्र साढे ४ सय मानिसमा डेंगुको संक्रमण देखिएको छ । १६ साउनमा पहिलो पटक पोखरा–८ शिवालय चोकका एक व्यक्तिमा डेंगुको संक्रमण पाइएको थियो ।

तर, भदौ दोस्रो सातासम्म आइपुग्दा डेंगु संक्रमितको संख्या ४ सय ३९ पुगेको छ । डेंगु रोग नियन्त्रणको प्रयासमा पोखरा महानगरपालिका, स्वास्थ्य कार्यालयलगायतका सरकारी निकाय तथा अन्य सामाजिक संघसंस्थाले चेतनामूलक अभियान चलाएका थिए । यद्यपि, डेंगु संक्रमितको संख्या बढिरहेको छ ।

सरकारी तथ्याङकमा करिब साढे चार सयमा डेंगुको संक्रमण देखिए पनि पोखराका विभिन्न वडामा डेंगुको संक्रमणबाट करिब १ हजारभन्दा बढी प्रभावित भएको अनुमान गरिएको छ ।

कतिपय बिरामीले आफूलाई पायक पर्ने निजी अस्पताल, क्लिनिक र औषधि पसलमा उपचार गराउने गरेका छन् जसको अभिलेख छैन । किनकि, निजी अस्पताल र क्लिनिकमा उपचार गराउने सबैको ल्याब परीक्षण गरिएको छैन । कतिपय बिरामीलाई स्वास्थ्यकर्मीले लक्षणका आधारमा उपचार गर्दै आएका कारण सरकारी तथ्याङ्कभन्दा वास्तविक संक्रमितको संख्या बढी छ ।

शुरुको हप्तामा केहीमा सामान्य संक्रमण देखिए पनि एक महिनाको अवधिमा भने डेंगुको संक्रमण बढेर ४ सय ३९ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा.भोजराज गौतमले जानकारी दिए । उनका अनुसार मानिसको जनघनत्व बढी रहेको पोखरा महानगरपालिकाका ८, ९ ,१० र १७ वडामा सबैभन्दा बढी डेंगुको संक्रमण देखिएको छ ।

‘अहिलेसम्मको रिपोर्टमा ४ सयभन्दा बढीमा डेंगु सेरोलोजी टेस्ट पोजिटिभ देखिएको छ,’ उनले भने, ‘कतिपय बिरामी अस्पतालमा उपचार गराइरहेका छन् भने केही चाहिँ चिकित्सकको प्रत्यक्ष निगरानीमा घरमै उपचार गराइरहेका छन् ।’

पोखराका विभिन्न अस्पतालमा झुलसहित छुट्टै कोठामा राखेर उच्च निगरानीका साथ डेंगुका बिरामीको उपचार भइरहेको उनले दाबी गरे । ‘पोखरामा गत वर्ष डेंगुको टाइप २ भाइरस देखिएको थियो । अहिले उनीहरुको रगतको सेरोटाइप जाँचमा ४ सयभन्दा बढीमा पोजेटिभ आएको छ । ‘टाइप १ देखि टाईप ४ सम्मको भाइरस डेंगुमा हुन्छ १ र २ नर्मल हुन्छ भने टाईप ३ र ४ खतरा हुन्छ ।’ गत वर्ष पनि पोखरामा ५ सय ७१ जनामा डेंगुको संक्रमण देखिएको थियो ।

लामखुट्टेको वृद्धि र संक्रमण गराउने उपयुक्त मौसम भएका कारण पोखरामा डेंगु संक्रमणको उच्च जोखिम अझै रहने बताउँदै उनले सावधानी अपनाउन सबैलाई आग्रह गरे ।

लामखुट्टेको बासस्थान नै नष्ट पार्नु डेंगुको प्रमुख रोकथाम भएको उनको भनाइ छ । कास्कीबाहेक गण्डकी प्रदेशअन्तर्गत स्याङजाका दुई जनामा र तनहुँका एक जनामा डेंगु आउँदा भेटिएको डा. गौतमले बताए । यसबाहेक यो वर्ष प्रदेशका अन्य जिल्लामा हालसम्म डेंगुका बिरामी नभेटिएको उनले बताए ।

Featured