देश

सहकारी संस्था मर्ज गर्नुको विकल्प छैन : मन्त्री अर्याल

स्याङ्जा, भदौ १४–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको बताएकी छन् । अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा मर्ज हुनुको विकल्प नरहेको मन्त्री अर्यालको भनाइ छ ।

स्याङ्जाको वालिङ– ९ मा रहेको कानुङ आँधिखोला बचत तथा ऋण सहकारी संस्थाको आज उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीको आफ्नै विकासको लागि पनि एक आपसमा मर्ज भएर सशक्त हुन जरुरी रहेको प्रस्ट पारिन् ।

२०७५ फागुन ३ गतेबाट सञ्चालनमा आएको सहकारी संस्थामा २६९ जना सेयर सदस्य रहेको कानुङ सहकारीका अध्यक्ष उमेश दर्लामीले जानकारी दिए । एक करोड ८२ लाख ८४ हजार सेयर पुँजी रहेको सहकारीको तीन करोड ३८ लाख ३६ हजार ५१७ कारोबार रहेको उनले बताए ।