देश

दुर्घटनामा महिलाको मृत्यु

झापा, भदौ १४–पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको कनकाई नगरपालिका–१ जामुनबारी चौकमा सवारी दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ भने १७ जना यात्रु घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ११ प ८९७७ नम्बरको स्कुटरलाई सोही दिशाबाट गईरहेको मे १ ख ७२०४ नम्बरको सिमोन ट्राभल्स बसले पछाडीबाट ठक्कर दिदाँ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार भद्रपुर नगरपालिका–९ की २८ वर्षीया सुजन पोखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमनाथ अधिकारीले बताए ।

स्कुटरलाई ठक्कर दिएको बस अनियन्त्रित भएर सडक किनारमा पल्टिदाँ बसमा सवार १७ जना घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइते सबैको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।