देश

‘हल्दीबारीको बाचा, झापाभरि माछा’ कार्यक्रम कार्यान्वयनमा ल्याइने

झापा, भदौ १४–हल्दीबारीको दृष्टि, कृषि र पर्यटनमार्फत समृद्धि भन्ने अभियानमा लागि परेका जनप्रतिनिधिले आगामी पाँच वर्षभित्र ‘हल्दीबारीको बाचा, झापाभरि माछा’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने योजनालाई निरन्तरता दिने भएका छन् ।

हल्दीबारीमा आयोजित गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले ‘किसानको खुसी, पशुपालन र कृषि, रहेकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका हुन् ।

उनले एक टोल, एक करेसाबारी कार्यक्रम सञ्चालनमा ल्याएको बताए । यस्तै हल्दीबारीबासी कवि एवम साहित्यकार नवराज पराजुलीलाई हल्दीबारीको छोरा र भारतीय रियालिटी सो सारेगामापामा धूम मच्चाएकी गायिका मेनुका पौडेललाई हल्दीबारीकी छोरीको सम्मान दिने घोषणा गरिएको छ ।

स्थानीय पर्यटन प्रवद्र्धन गर्नका लागि सद्भावना पर्यटन दूतको रूपमा समेत उनीहरुलाई नियुक्त गरिएको सो अवसरमा जानकारी दिइएको छ । गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा चालु आर्थिक वर्षमा सशर्त अनुदानसहित ३७ करोड १९ लाख २१ हजार रुपैयाँसहितको बजेट, नीति तथा कार्यक्रम पुस्तिकाको प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले सार्वजनिकीकरण गरेका थिए ।

कार्यक्रममा दुई जना दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप, लोपोउन्मुख मेचे भाषाका लेखकसहित दुई जना कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।