देश

यमबुद्ध फाउण्डेशनको आयोजनामा एकल गायन प्रतियोगिता

ललितपुर, भदौ १४–चर्चित र्यापर गायक स्वर्गीय यमबुद्ध (अनिल अधिकारी) को स्मृतिमा शुक्रबार महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा एकल गायन प्रतियोगिता सम्पन्न भएको छ ।

यमबुद्ध फाउण्डेशनले ललितपुरको जावलाखेल एकान्तकुनास्थित उक्त विद्यालय परिसरमा आयोजना गरेको गायन प्रतियोगिता कार्यक्रममा २३ जना विद्यार्थीहरु सहभागी भएका थिए । गायन प्रतियोगितामा अनुग्रह ताङ्दो राई प्रथम, मनिषा गिरी द्धितीय र कृष्ण परियार तृतीय भए ।

फाउण्डेशनका अध्यक्ष तथा यमबुद्धका बुबा अम्बिका प्रसाद अधिकारी र कोषाध्यक्ष उर्मिला अधिकारीले गायन प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीहरुलाई प्रमाणपत्र र टिसर्ट वितरण गरे ।

अधिकारीले यमबुद्धका सपना र योजनाहरुलाई देशैभर अभियानका रुपमा सञ्चालन गर्दै लैजाने बताए । यमबुद्धले गरिब परिवारका विद्यार्थीहरुलाई गर्ने गरेको सहयोगलाई निरन्तरता दिइरहने प्रतिबद्धता जनाए ।

विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले यमबुद्ध धेरै युवाहरुको मन मनमा बसेको बताउँदै उनका सामाजिक कार्यहरुको सबैले प्रशंसा गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालयमा अध्ययनरत विपन्न परिवारका छात्र छात्राहरुलाई झोला र स्टेशनरी सामानहरु वितरण गरिएको थियोे ।