देश

पार्टी भित्रैबाट प्रहार हुन थालेकोमा डा. शेखर कोइरालाको आपत्ति

काठमाडौं, भदौ १३–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू र पार्टी महामन्त्री डा. शशांक कोइरालालाई व्यवसायिक पृष्ठभूमिबाट आएको भन्दै पार्टी भित्रैबाट प्रहार हुन थालेकोमा आपत्ति जनाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा डा. कोइरालाले आफू जन्मदा नै परिवारका सबै सदस्य क्रान्तिमा होमिएको र १० वर्षको हुँदा परिवारका सबै सदस्य जेल गएका कारण एक्लै बसेको घटना स्मरण गराए ।

‘अहिले म र महामन्त्री डा. शशांकमाथि व्यवसायिक पृष्ठभूमिबाट आएको र राजनीतिक पृष्ठभूमि तथा अनुभव नभएको भन्दै प्रहार हुन थालेको छ’, डा. कोइरालाको प्रश्न थियोे, ‘हामी जन्मिदै क्रान्तिबाट आएका हौं । मैले ५२ वर्षअघि विराटनगर क्याम्पसमा फ्रन्ट बसेर काम गर्दा तपाईंहरुमध्ये को को कहाँ हुनुहुन्थ्यो ।’

उनले आफूहरु बिनाव्यवसाय राजनीति गर्नु हुन्न भन्ने मान्यतामा रहेको जनाउँदै बिनाव्यवसायको राजनीतिलाई अनैतिकको संज्ञा दिएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार डा. कोइरालाले २०४८ सालको निर्वाचनमा मोरङमा खटिइँदा आफूलाई तत्कालीन एमालेले दिएको यातनासमेत स्मरण गरेका थिए ।

‘चुनाव प्रचारमा जाँदा मलाई एमालेका कार्यकर्ताले कुटपीट गर्दै चुरोटको ठूटाले पोलेर यातना दिएका थिए,’ निकै भावुक देखिएका कोइरालाको भनाइ उधृत गर्दै केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘मलाई पेश्तोल मुखमा कोचेर फोटो खिचाएको घटना के व्यवसाय थियो ?’

कोइरालाले कांग्रेसको महाधिवेशनमा आठसय बढी महाधिवेशन कार्यकर्ताले हिन्दुराज्यको विषयमा निर्णय गर्न भनेर दिएको लिखित आग्रहलाई नेतृत्वले सम्बोधन नगर्दा भवष्श्यमा जटिल मोड लिनसक्ने चेतावनी दिए । उनले आगामी महाधिवेशनमा त्यो एजेण्डा बढेर गएमा नेतृत्वले चुनौती थेग्न नसक्ने भन्दै सचेत गराए ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको कार्यक्रममा लाखौं सर्वसाधरण जनता आउने तर कांग्रेसले आयोजना गरेको कार्यक्रममा कार्यकर्ता मात्र किन आउँछन भनी उनले प्रश्न गरे । उनले जनताको सहयोग र सम्बन्ध पार्टीले पाउन नसक्नुको कारण नखोजे कमजोर हुने चेतावनी दिए । बेलैमा नसोचे रवि लामिछानेका लागि भेला भएका जति मान्छे राजनीतिक दलले भेला गर्न नसक्ने उनको भनाइ थियो ।

डा. कोइरालाको भनाइप्रति अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने असहमति जनाए । उनले संविधानमा नै धर्म निरपेक्षता उल्लेख गरिसकेको अवस्थामा हिन्दु धर्मको एजेण्डा बोकेर हिँड्नु संविधान विपरीत हुने धारणा राखेको थिए ।

बैठकमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधान बमोजिम निर्धा्रित समयमा महाधिवेशन नगरेका सबै भातृ संस्थाहरुको अवस्था शून्यमा पुगेको दाबी गरे । उनले निर्धा्रित समयमा महाधिवेसन नगर्ने सबैजसो भातृ संस्थाको महाधिवेसनको तयारी गर्न माग गरे ।

‘एउटै प्रकृतिका भातृ संस्थाको कार्यसमिति सदस्यको सख्या, कार्यकाल, संरचना र पदाधिकारीको संख्या फरक छ । त्यसमा एकरुपता हुनुपर्छ’, केन्द्रीय सदस्य घिमिरेले भने, ‘भातृ संस्थाहरुको प्रस्तावना अपुरो, अस्पस्ट र पार्टी विधान अनुकूलको छैन । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको पूर्ण संरचना घोषणा गर्नुपर्छ ।’

नेपाल दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्माले आफू दलित संघको महाधिवेशन गर्न तयार भए पनि १३औं महाधिवेसन र महासमिति बैठकले प्रभावित भएको बताए । उनले १३औं महाधिवेसन अघि नै ५० जिल्लाको अधिवेसन भए पनि नेताहरुले अन्य जिल्लाको अधिवेसन रोक्न दबाब दिएको आरोप लगाए ।

बैठकमा कांग्रेस नेता दिलेन्द्रप्रसाद बढुले केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि भ्रष्टाचारका घटनामा बृद्धि भएको, शान्ति सुरक्षाको अवस्था कमजोर भएको र राज्यका हरेक अंगमा हस्तक्षेप बढाउँदा समेत प्रतिपक्षी दलको हैसियतले कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो गरे ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संसदमा कांग्रेसले खेलेको भूमिको चर्चा गरेको थिए । शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरु दिलबहादुर घर्ती, एनपी साउद, उमाकान्त चौधरी, जीवनबहादुर शाही, जीवन परियार, सीता गुरुङ, गोविन्द भट्टराई, हृदयराम थानी, सरिता प्रसाईं, बहादुरसिंह लामा र अमृत अर्यालले धारणा राखेका थिए ।

कांग्रेस बैठकले सुनसरी जिल्लाको इनरुवा नगरपालिका(२ को वडा सदस्य पदमा कांग्रेसको तर्फबाट उम्मेदवार भइ निर्वा्चित वडा सदस्य लक्ष्मी मेहताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत असार १७ गते दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले नेकपामा प्रवेश गरीकी वडा सदस्य मेहतालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वा्चित वडा सदस्य पद रिक्त गरिदिनका लागि निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको छ ।

Featured