देश

एन आई सी एशिया बैंकद्धारा सुपर चमत्कारिक निक्षेप योजना संचालन

विराटनगर, भदौ १३–एन आई सी एशिया बैंकले बचतमा ब्याजका अतिरिक्त बिमा सुविधा दिनेगरि सुपर चमत्कारिक निक्षेप योजना संचालनमा ल्याएको छ । आफ्नो २२ औं बार्षिकोत्सवको अवसरमा उक्त योजना अन्र्तगत सो बैंकले सबै ग्राहकहरुकालागि विभिन्न खाताहरु संचालनमा ल्याएको हो ।

सुपर चमत्कारिक बचत खाताहरु अन्र्तगत सुपर चमत्कारिक नारी बचत खाता सहित सोहि शिर्षकमा ज्येष्ठ नागरिक,बाबु नानी बचत खाता,विद्यार्थी बचत खाता,स्वरोजगार बचत खाता,बैदेशिक रोजगार खाता,उद्यमशिल बचत खाता र सुपर चमत्कारिक तलब बचत खाता संचालनमा ल्याइएको हो ।

बैंकको प्रदेश कार्यालयले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आजैबाट प्रदेश–१ मा ती खाताहरु संचालनमा ल्याइएको जानकारी गराएको छ ।

बैंकका प्रदेश–१ प्रमुख दिपक थापाले सिल्भर,गोल्ड र डाइमण्ड गरि तीन सेगमेन्टमा संचालनमा ल्याइएका ती खाता धारकहरुले बैंकले बचतमा दिने उच्चतम ब्याजका अतिरिक्त अधिकतम १ करोड ३१ लाख ५० हजारसम्मको बिमा सुविधा समेत प्राप्त गर्नसक्ने जानकारी दिए ।

तीनवटै सेगमेन्टमा बिमा सुविधा रहेपनि न्युनतम १ हजारको सिल्भर,२५ हजारमा गोल्ड र १ लाखमा डाइमण्ड सेगमेन्टको खाता खोल्न सकिने र बचत अनुसारकै बिमा सुविधा उपलब्ध हुने बताए । उक्त बैंकको प्रदेश १ मा ५५ वटा र देशभरिमा २ सय ९७ वटा शाखा कार्यालयहरु रहेको जनाइएको छ ।

Featured