देश

विवाहको बहानामा नेपाली चेली चीन लगेर बेच्न खोज्ने गिरोह पक्राउ

काठमाडौं, भदौ १३–प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले विवाहको बहानामा चीनमा यौनदासी बनाउन नेपाली युवतीलाई लिन खोज्ने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना नेपाली नागरिकसहित चारजना चिनियाँ रहेका छन् । उनीहरुलाई पक्राउ गर्नुका साथै प्रहरीले चारजना युवतीको उद्धारसमेत गरेको छ ।

पक्राउ पर्नेमा लमजुङ बेसी सहर–३ की पार्वती गुरुङ, सोही ठाउँकी अमृता गुरुङ, भरत तामाङ र उषाकुमारी घिमिरे रहेका छन् । त्यस्तै सिन्धुपाल्चोकको हेलम्बु–२ की रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकोटको ककनी गाउँपालिका–४ का रोज तामाङ र चिनियाँ नागरिकमा झाङ डोङ हुई, क्वानहाङ पिङ, क्वीन लियाङ र जेङ छिङ डाङ छन् ।

उनीहरुलाई ब्युरोको टोलीले दुई दिनअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट चीन जान लाग्दा नियन्त्रणमा लिएको ब्युरोका प्रमुख एसएसपी ईश्वरबाबु कार्कीले बताए ।

उनीहरुबारे ब्युरोले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । एसएसपी कार्कीका अनुसार चीनियाँ नागरिक पाँचदिन अघिमात्र नेपाल आएका थिए ।

उनीहरुले नेपाली दलालको सहयोगमा नेपाली युवतीसँग कानुनी रुपमै विवाह गरेर चीन लैजाने र त्यता यौनकर्मीको रुपमा काम लगाउने गरेको खुलेको उनको भनाइ छ । यसअघि विवाहको बाहानामा दक्षिण कोरिया र अन्य देशका मानवतस्करले नेपाली युवती लैजाने गरेका थिए । तर, चीनका मानव तस्करले पनि नेपाली युवती लैजाने गरेको पहिलो पटक थाहा भएको ब्युरोले जनाएको छ ।

एसएसपी कार्कीका अनुसार चिनियाँ नागरिकले नेपाली युवतीसँग विवाह गराइदिन दलालहरुलाई १० लाख रुपैयाँसम्म बुझाउने गरेको पाइएको छ । पक्राउ परेकाहरुबाट १२ थान मोबाईल, ३८ हजार ८ सय चिनियाँ युआन र तीन हजार अमेरिकी डलरसमेत बरामद गरेको छ ।

Featured