देश

२ सय ९१ वटा चौपाया मार्नेलाई कारवाही गर्न शहरी विकासमन्त्रीको माग

काठमाडौं, भदौ १३–नेपालगञ्ज नगरपालिकाको कान्जी हाउसका गाईसहितका २ सय ९१ वटा चौपाया मार्नेलाई कारवाही गर्न माग गर्दै शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले गृहमन्त्रीलाई पत्र लेखेका छन् ।

काञ्जीहाउसमा रहेका गाई सुर्खेतको जंगलमा मृत भेटिएको घटनाले आफू स्तब्ध भएको भन्दै उनले गहृमन्त्री रामबहादुर थापा बादललाई पत्र लेखेर छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

उनले गाई राष्ट्रिय जनावर भएको र निर्मम ढंगले भीरबाट लडाएर मारिएको भन्दै आफू यो घटनाबाट स्तब्ध भएको जनाएका छन् । नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखका लागि लैजाँदै गरिएका केही गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालेर मारिएको समाचार सार्वजनिक भएपछि मन्त्री राईले घटनाप्रति चासो देखाएका हुन् ।

राष्ट्रिय जनावरको उचित व्यवस्थापन र संरक्षण हुनुपर्नेमा सामुहिक रुपमा गाईलाई भीरबाट खसालेर मार्ने कार्य अन्यन्तै घृणित र अमानवीय भएको भन्दै मन्त्री राईले उक्त कार्यमा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धतासमेत स्थानीयबासी समक्ष गरेका छन् ।

राष्ट्रिय जनावरको रुपमा रहेका गाईको उचित व्यवस्थापन र संरक्षण गर्न सांसद विकास कोषबाट एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको स्मरण गर्दै मन्त्री राईले गाईको संरक्षणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

Featured