खेलकुद

राखेपका सदस्य सचिवलाई राजनीतिक गतिविधि गर्न रोक लगाउनुपर्नेमा सांसदहरुको जोड

काठमाडौं, भदौ १३–राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिवलाई राजनीतिक गतिविधि गर्नबाट रोक लगाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बाध्यकारी व्यवस्था गरेरै राखेप सदस्य सचिवलाई पदमा रहुञ्जेल राजनीति गर्नबाट रोक्नुपर्ने सांसदहरुको धारणा छ ।

संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथिको छलफलमा सहभागी सांसदहरुले सदस्य सचिव राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने व्यवस्था गर्नुपर्ने बताएका हुन् । खेलकुद क्षेत्रको वृद्धि विकासका लागि सके राजनीतिक नियुक्ति नै बन्द गर्नुपर्ने धारणा केही सांसदले राखेका थिए ।

विधेयक संशोधनकर्ता दिव्यमणि राजभण्डारीले सदस्य सचिव राजनीतिक गतिविधिमा संलग्न हुँदा खेलकुद क्षेत्रमा राजनीतिक भेदभावको अवस्था श्रृजना हुने भएकाले राजनीतिमा संलग्न हुन नपाउने व्यवस्था गर्नुपर्ने बताए ।

त्यसैगरी, सांसद बिमला बिकले खेलाडी कल्याणकोषको स्थापना गरी खेलाडीले खेलबाट बिदा लिने अवस्थामा निवृत्तिभरण वा पेन्सन दिने व्यवस्था मिलाउनुपर्ने धारणा राखे ।उनले विधेयकमा खेलाडी प्रवद्र्धन कोष बनाउने विषय थप गर्न सुझाव पनि दिए ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेल क्षेत्रका समस्या तथा चुनौती सम्बोधन र दायित्वलाई केन्द्र भागमा राखेर विधेयकलाई पूर्णता दिनेतर्फ प्राप्त सुझावलाई मन्त्रालयले सधैं स्वागत गर्ने बताए ।

राष्ट्रियसभामा उत्पति भएको ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ लाई राष्ट्रियसभाले पारित गरेर सुझावसहित प्रतिनिधिसभामा पठाएको थियो । समितिले शुक्रबार विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुसँग संशोधन प्रस्तावबारे छलफल गरेका हो ।

Featured