विदेश

कस्मिरीको पक्षमा पाकिस्तानमा प्रदर्शन

इस्लामावाद, एजेन्सी, भदौ १३-कस्मिरको पक्षमा पाकिस्तानी नागरिक सडकमा नाराबाजी गर्दै उत्रेका छन्।

प्रधानमन्त्री इमरान खानको आग्रहमा ‘कस्मिर आवर’ अर्थात् कस्मिरका लागि समयमा शुक्रबार आधा घन्टा (मध्यान्ह १२ बजेदेखि साढे १२ सम्म) उनीहरूले सडकमा प्रदर्शन गरेका हुन्।

प्रदर्शन सुरू हुनुअघि पाकिस्तानको र आजाद जम्मु कस्मिरको राष्ट्रिय गीत बजाइएको थियो।

भारतले अगस्ट ५ मा संविधानको धारा ३७० लाई खारेज गरेसँगै कस्मिरका बासिन्दाले पाइरहेका विशेष अधिकार खोसिएको थियो। भारतप्रशासित जम्मु कस्मिरको विशेष मान्यता खारेज गर्नअघि सेना खटाएर कर्फ्यु लगाइएको थियो। टेलिफोन र इन्टरनेटमा लगाएको प्रतिबन्ध अझै खुलेको छैन।

त्यसैको विरोधमा शुक्रबार पाकिस्तानभरि भारतविरुद्ध र कस्मिरका बासिन्दाहरूसँग ऐक्यवद्धता जनाउन प्रदर्शन गरिएको हो। पाकिस्तानका शिक्षा, बैङ्क, सरकारी तथा निजी कार्यालय, वकिल तथा सैनिक अधिकारीहरु सबैले सहभागी भएको ‘द डन’ पत्रिकाले जनाएको छ।

प्रदर्शन समय सुरू भएलगत्तै सबै ट्राफिक लाइटहरूमा रातो बत्ती बालिएको थियो। प्रधानमन्त्री कार्यालय अगाडी गरिएको उक्त सभालाई प्रधानमन्त्री इमरान खानले नै सम्बोधन गरेका थिए।

खानले अन्तर्राष्ट्रिय समुदायले नरेन्द्र मोदीको ‘फासिस्ट सरकार’को विरोध नगरे विश्वभरप नै त्यसको असर देखिने बताए। प्रधानमन्त्रीका एक सल्लाहकारले जम्मु र कस्मिरमा भारतले केही कारबाही थाले हरेक इँटाको जवाफ ढुङ्गाले हुने चेतावनी दिए।

कस्मिरका जनताले आफ्नो स्वतन्त्रता नपाएसम्म आफूले उनीहरूको समर्थन गर्ने पाकिस्तानले जनाएको छ।

Featured