देश

फरार अभियुक्त २६ वर्षपछि पक्राउ

काभ्रेपलाञ्चोक, भदौ १३–काठमाडौँ जिल्ला अदालतले विसं २०५० जेठ १९ गते नकवजनी चोरी मुदामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका लामालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उहाँका अनुसार लामा २६ वर्षदेखि फरारको सूचीमा थिए। उनलाई रु दुई लाख १५ हजार चार सय ७५ जरिवाना र एक महीना १५ दिन कैद सजाय तोकिएको थियो। लामालगायत गाली बेइज्जती, बोक्सी आरोप, बहुविवाह, चेक अनादर, सवारी ज्यान, चोरी, जबर्जस्ती करणी, अपहेलना, कुटपिट र जालसाजी मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेका १८ फरार अभियुक्तलाई यसै हप्ता पक्राउ गरिएकोे उनले बताए।

पक्राउ परेका गाली बेइज्जती मुदाका पनौती नगरपालिका–३ का शेषनारायण तिमल्सिना, जयराम तिमल्सिना, जयदेव तिमल्सिना र जोगमाया तिमल्सिनालाई रु एक सय ४५ जरिवानाका साथै एक महीना १५ दिन कैद सजाय तोकिएको थियो। यस्तै फरार रहेका बोक्सी आरोप मुद्दाका रोशी गाउँपालिका–८ का ३७ वर्षीया सुविना तामाङ, बहुविवाह मुद्दाका नमोबुद्ध नपा–५ का ३१ वर्षीय राम लामा, चेक अनादर मुद्दाका धुलिखेल नपा–७ का ३६ वर्षीय सुनिल लामा, सवारी ज्यान मुदाका धुलिखेल नपा–८ का ३४ वर्षीय राजकुमार लामा, चोरी मुदाका नमोबुद्ध नपा–५ का ३८ वर्षका जीतबहादुर तामाङ, जबर्जस्ती करणी मुदाका नमोबुद्ध नपा–७ का ४० वर्षीय उज्वल खनाल, जालसाजी मुदाका पनौती नपा–८ का २५ वर्षीय अमिर केसी र ४८ वर्षीया तुलसा केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

काभ्रेपलाञ्चोक प्रहरीले यसै हप्ता जबर्जस्ती करणी अभियोगका मण्डन देउपुर नगरपालिका–१० का ३१ वर्षीय रामबहादुर लामा, अपहेलना मुदाका रोशी गाउँपालिका–१ का ५९ वर्षीय बेतमान तामाङ, चोरी मुदाका पाँचखाल नपा–८ होक्सेका ३१ वर्षीय कुमार तामाङ तथा कुटपिट मुदाका रोशी गाउँपालिका–८ का ४५ वर्षीया सुन्दरी तामाङ र ७० वर्षीया होसिला तामाङलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये अधिकांश विभिन्न मुद्दामा जरिवाना तथा कैद भुक्तान गर्न बाँकी रहेकाले तिनलाई सम्बन्धित जिल्ला अदालत बुझाइएको प्रनाउ गिरीले जानकारी दिए। (रासस)