देश

आज कुशे औँसी, घर–घरमा पवित्र कुश भित्र्याइँदै

काठमाडौं, भदौ १३–आज कुशे औँशी । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पुज्ने गरिन्छ । ब्राह्मणले मन्त्रोच्चारण गरी वैदिक विधिका साथ काटिएको कुश आफ्ना यजमानका घरघरमा पुर्याउने र कुश लैजाने पुरोहित वा ब्राह्मणलाई यजमानले सिदा र दक्षिणा दान गर्ने चलन रहीआएको छ । कुशे औँसीका दिन छोराछोरीले आफ्ना बुबालाई मनपर्ने खानेकुरा र नयाँ वस्त्र उपहार दिने परम्परा छ ।

पिता नहुनेले काठमाडौंको गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट लगायतका पवित्र तीर्थस्थल पुगेर स्नान गरी पितृको नाममा श्राद्ध गरी तर्पण दिने गर्छन् ।