देश

बिमामा नेपालीको पहुँच २५ प्रतिशत, चार महिनामा ८ प्रतिशत वृद्धि

काठमाडौं, भदौ १२–बिमामा नेपालीको पहुँच २५ प्रतिशत पुगेको छ । फागुनसम्म बिमाको पहुँच १७ प्रतिशत पुगेकोमा गत आर्थिक वर्षको अन्त्यसम्ममा ८ प्रतिशतले बढेर २५ प्रतिशत नाघेको बिमा समितिले जनाएको छ ।

समितिका अनुसार यसमा वैदेशिक रोजगार बिमाको हिस्सा ६ प्रतिशत छ । सरकारी नीति, बिमा समितिको सक्रियता र बिमा कम्पनीहरुले व्यवसाय वृद्धिका लागि गरेको प्रयासका कारण नागरिकमा बिमा पहुँच बढेको हो । न्यून आय भएका वर्गलाई बिमाको दायरामा ल्याउन र थप सुरक्षण प्रदान गर्न बिमांक रकम थप र बिमादर परिमार्जन गरी लघुबिमा निर्दे्शिका २०७१ लाई समयानुकूल बनाइएको छ । वैदेशिक रोजगार म्यादी जीवन बिमालेखलाई थप व्यवस्थित बनाउन २०७५ माघदेखि बिमा पुलको व्यवस्था गरिएको छ । हाल वैदेशिक रोजगार म्यादी जीवन बिमालेख विभिन्न बिमा कम्पनीबाट जारी हुँदै आएको छ ।

अढाइ वर्षमा २५० प्रतिशत वृद्धि
अढाइ वर्षको अवधिमा बिमाको दायरा २५० प्रतिशत बढेको छ । नेपालमा बिमा सेवा सुरुवात भएको ६८ वर्षसम्म कुल जनसंख्याको ७ प्रतिशतमा सीमित रहेको बिमा पहुँच अढाइ वर्षयता १८ प्रतिशत बढेर असारसम्म २५ प्रतिशत पुगेको बिमा समितिले जनाएको छ ।

पहिलो वर्ष बिमा क्षेत्रको विस्तारका लागि नीतिगत तथा प्रक्रियागत सुधारमा जुटेको बिमा समितिले दोस्रो वर्षदेखि नै नतिजा देखिएको जनाएको छ । ‘हामीले एक वर्षको अवधिमा धेरै नै संरचनागत र प्रक्रियागत सुधार गरेका थियौं,’ समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले भने, ‘त्यसको नतिजा देखिन थालेको छ ।’ समितिले असारसम्ममा बिमाको दायरा २० प्रतिशत पुग्ने अपेक्षा गरेको थियो ।

बिमाको दायरा बढाउन बिमा समितिका अध्यक्ष चापागाईं नै सक्रियतासाथ जुटेका छन् । बिमा प्रचारप्रसारलाई ग्रामीणस्तरसम्म पु(याउन समितिले एक वर्षयता स्थानीय तहका जनप्रतिनिधिसँग अन्तर्किरया गर्दै आएको छ । त्यस्तै विभिन्न सामुदायिक विद्यालयमा ‘विद्यार्थीसँग बिमा समिति’ भन्ने कार्यक्रम सञ्चालन गरिएको छ ।

समितिले बिमा क्षेत्रमा जनशक्ति अभावको समस्या न्यूनीकरण गर्न इन्स्योरेन्स इन्स्टिच्युट नेपालमार्फत बिमा समितिका कर्मचारी, बिमकका कर्मचारी र वाणिज्य बैंकका कर्मचारीलाई बिमा, बैंकिङ, निरीक्षण तथा सुपरीवेक्षणलगायत बिमाका आधारभूत विषयमा विभिन्न तालिम सञ्चालन गरेको जनाएको छ ।

बिमा सचेतनासँगै ग्रामीणस्तरसम्म बिमाको पहुँच वृद्धि गर्न समितिले बिमा कम्पनीका शाखा खोल्ने कार्यलाई प्राथमिकतामा राखेको छ । कम्पनीहरुको संख्या वृद्धि र पुँजी वृद्धिको योजनाका कारण व्यवसाय विस्तार गर्न कम्पनीहरु बाध्य हुँदा बिमा क्षेत्रको वृद्धि दिन दुगुना रात चौगुना देखिएको हो । हाल नेपालमा १९ जीवन बिमा, २१ निर्जीवन बिमा तथा एक पुनर्बिमा गरी ४१ वटा बिमा कम्पनीले व्यावसायिक कारोबार गरिरहेका छन् ।

Featured