देश

जलेश्वर कारागारका ५० प्रतिशत कैदी भाइरल ज्वरोका बिरामी

जनकपुर, भदौ १२–भाइरल ज्वरोको प्रकोपले महोत्तरीको जलेश्वर कारागारका ५० प्रतिशत कैदी प्रभावित भएका छन् । जलेश्वर कारागारका जेलर कन्हैया मिश्रका अनुसार आधा भन्दा बढी रुघाखोकी र ज्वरोले ग्रस्त छन् ।

१ सय ३० कैदी क्षमता रहेको जलेश्वर कारागारमा पुरुष ४ सय ५६, महिला ४५ र आश्रित ४ गरी ५ सय ५ जना कैदी छन् । स्थान अभावले कोचिएर बस्नु पर्दा भाइरल संक्रमणबाट पीडित कैदीको संख्या बढदै गएको हो ।

औषधिको अभावमा उपचारमा समस्या बनेको मिश्रले बनाए । ‘तत्कालै सघन उपचारको व्यवस्था नमिलाए सबै कैदी बिरामी पर्ने सम्भावना बढेको छ,’ जेलर मिश्रले भने, ‘बन्दीगृहमा स्वास्थ्य शिविर सञ्चालन गर्न जिल्ला स्वास्थ कार्यालय महोत्तरी र जलेश्वर नगरपालिकासँग समन्वय गर्दैछु ।’

भाइरलका कारण ज्वरो आउने, जिउ दुख्ने, घाँटी दुख्ने खान मन नलाग्ने लगायतका समस्या देखिने गरेको छ । भाइरलबाट बच्न खानपानमा विशेष ध्यान पुर्याउनुपर्ने भन्दै चिकित्सकहरुले बढी मात्रामा झोलीय पदार्थ खान सुझाव दिएका छन् ।

भाइरलले विशेष गरेर बच्चा र बृद्ध–बृद्धाहरुमा बढी खतरा देखिने भएकाले सावधानी र समयमै उपचार गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् । भाइरलबाट महोत्तरी जिल्लाका १५ वटै स्थानीय तह प्रभावित भएको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ । अस्पताल, प्राथमिक स्वास्थ केन्द्र, स्वास्थ चौकी, निजी क्लिनिकमा ज्वरोका बिरामी उपचार गराउन भरिभराउ छन ।

Featured