देश

सागर ढकालले ५ विकेट लिएपछि नेपाल विजयी

काठमाडौं, भदौ १२–नेपाली यू–१९ टिमले दोस्रो अभ्यास खेलमा श्रीलंकाको बादुरेलिया सीसीलाई डकवर्थ–लुइस मेथडका आधारमा ८० रनले पराजित गरेको छ । नेपाललाई जित दिलाउन स्पिनर सागर ढकालले ५ विकेटको शानदार स्पेल बलिङ गरे ।

पहिले ब्याटिङ गरेको नेपालले १६५ रनको टार्गेट दिएको थियो । तर, सागरको धारिलो बलिङका सामू निरिह साबित भएको बादुरेलिया २३.१ ओभरमा जम्मा ८४ रन बनाएर अलआउट भयो । बादुरेलियाका लागि अरिश्काले सर्वा्धिक २१ रनको योगदान दिए । सागर ढकालले ५.१ ओभरमा ५ विकेट लिने क्रममा जम्मा १८ रनमात्र दिएका थिए । यसैगरी कमल सिंह ऐरी र पवन सरार्फले समान २–२ विकेट लिँदा कुशल मल्लले १ विकेट आफ्नो नाममा लेखाए ।

सरे क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल ४६.४ ओभरमा २०६ रन बनाएर अलआउट भएको थियो । तर, वर्षाका कारण खेल प्रभावित भएपछि डकवर्थ–लुइस मेथडका आधारमा बादुरेरियाले ३१ ओभरमा १६५ रनको लक्ष्य पाएको थियो । नेपालका लागि ओपनर रित गौतमले सर्वा्धिक ७६ रन बनाउँदै अर्धशतकिय इनिङ खेलेका थिए ।

त्यस्तै, विकेटकिपर हरिबहादुर चौहानले पनि बोल्ड हुनुअघि ५६ रन बनाउँदै आफ्नो अर्धशतक पुरा गरेका थिए । २०.३ ओभरमा केबल ८५ रन जोड्दा ५ विकेट गुमाएको नेपालको इनिङ धराशायी भयसकेको थियो । तर, इनिङ सम्हाल्ने क्रममा दुवै खेलाडीले अर्धशतकीय इनिङ खेल्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डोहो¥याएका थिए ।

पहिलो ओभरको दोस्रो बलमै ओपनर पवन सरार्फ डकआउट भएपछि नेपाल सुरुवातबाटै दबाबमा आएको थियो । त्यसपछि खड्ग बोहरा २ रन, कप्तान रोहित कुमार पौडेल ३ रन, आशिफ शेख १४ रन तथा सन्दीप जोरा २४ रनमा आउट भएपछि नेपाल मध्यम योगफलमा सिमित हुन पुगेको थियो । कुशल मल्ल पनि डक आउट भएका थिए ।

पहिलो अभ्यास खेलमा एसएससी यू–२३ सँग ३ विकेटले पराजित भएको नेपालले अझै एउटा अध्यास खेल खेल्नेछ थियो । यू–१९ एसिया कपको तयारीका रुपमा नेपालले अभ्यास खेल खेलेको हो ।

नेपालले सेप्टेम्बर ५ बाट एसीसी यू–१९ एसिया कप खेल्दै छ । नेपाल रहेको समुह ‘बी’मा दुई टेस्ट राष्ट्र श्रीलंका, बंगलादेशसहित युएई पनि छ । यस्तै, समुह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।

नेपालले समूह चरणअन्तर्गत सेप्टेम्बर ६ मा आयोजक श्रीलंका, सेप्टेम्बर ८ मा बंगलादेश र सेप्टेम्बर १० मा यूएईसँग प्रतिस्पर्धा गर्ने छ । आफ्नो समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।