देश

रामपुरमा पहिलोपटक व्यावसायिक फूलखेती

पाल्पा, भदौ १२– पाल्पाको रामपुरमा पहिलोपटक व्यावसायिक फूलखेती सुरु गरिएको छ । रामपुर(४ देवीस्थान बस्ने युवा दिलबहादुर थापाले व्यावसायिक तवरले फूलखेती गरेका हुन् ।

दसैं(तिहारजस्ता चाडपर्वलाई मध्यनजर राख्दै थापाले एक महिनाअघिदेखि फूलखेती सुरु गरेका हुन् । उनको नर्सरीमा मखमली र सयपत्री जातका करिब चार हजार फूलका बिरुवा रहेका छन् ।

रामपुर क्षेत्रमा पछिल्लो समय चाडपर्वमा बजारमा आएका प्लास्टिकका मालाको खपत बढ्न थालेको देखेपछि फूलखेती सुरु गरेको थापाले बताए । बिरुवाको माग राम्रै भएकाले अर्को वर्ष व्यवसाय बढाउने थापाको सोच छ ।

उनको नर्सरीमा फूलका बिरुवा खरिद गर्न र हेर्न जानेको चहलपहल बढ्दो छ । एक बिरुवाको २० रूपैयाँमा बिक्री हुँदै आएको छ । विदेशबाट फर्केर दुई वर्षदेखि गाउँमा तरकारीखेती सुरु गरेका थापाले यो वर्ष फूलखेतीलाई पनि अगाडि बढाएका हुन् ।

एक महिनाअघि एकहप्ते व्यावसायिक पुष्पखेती, नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी तालिम लिएर फर्केपछि फूलखेतीमा सौख बढेको उनले बता । घरको सौन्दर्यका लागि बनाइएका बगैँचा र गमलाका लागि आवश्यक बिरुवा तयार गर्ने उनको भनाइ छ । हाईब्रिड जातको मखमली र हाईब्रिडसँगै उन्नत जातको सयपत्री फूल उनले लगाएका छन् ।

यहाँको उर्वरा कृषि समूह काँसजरीले एक हजार फूलका बिरुवा खरिद गरेर लगाएको छ । तिहार पर्वमा फूल उत्पादन गरेर बिक्री गर्ने गरी समूहले थापाको नर्सरीबाट बिरुवा खरिद गरी लगाउन सुरु गरेको सीमादेवी रानाले बताइन् ।

समूहका १८ जना महिलाले एक रोपनीभन्दा बढी जग्गामा फूलखेती सुरु गरेको रानाको भनाइ छ । मखमली र सयपत्री फूललाई विशेष गरी तिहारको मुख्य पहिचानका रूपमा लिने गरिन्छ । फूलको महत्वप्रति स्थानीयले चासो नदिँदा गाउँघरमै लोप हुन थालेको पाइएको छ । (रासस)