देश

कैलालीमा काठ तस्करी बढ्दो

कैलाली, भदौ १२–कैलालीमा काठ तस्करी बढेको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ठुलो मात्रामा काठ बरामद गरेको छ । तस्करी भइरहेको सूचनाका आधारमा १ सय ७७ कडी, ९ फ्रेम र ५ गोलिया काठ बरामद गरेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

गोदावरी नगरपालिका–४ चुरे राष्ट्रिय बन क्षेत्रमा चेकजाँच गर्दा वेवारिसे अवस्थामा रहेको एक सय १४ कडी र ९ वटा फ्रेम बरामद गरिएको बस्नेतले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टको कमाण्डमा मंगलवार राती खटिइएको प्रहरी टोलीले सो क्षेत्रबाट उक्त काठ बरामद गरिएको उनले बताए ।

यस्तै धनगढी उप–महानगरपालिका–११ घोडसुवाबाट ५ गोलिया काठ बरामद गरिएको छ । अस्थाई प्रहरी पोस्ट अम्बिका टोलबाट ८ भदौमा रात्री डिउटीमा खटिएको प्रहरी टोलीले सो स्थानमा चेकजाँच गर्दा सडक छेउमा बेवारिसे अवस्थामा सिसमको ५ गोलिया काठ बरामद गरिएको बस्नेतले बताए ।

धनगढीबाटै थप ६३ कडी काठ बरामद गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए । धनगढी उप–महानगरपालिका–१२ जुगेडाबाट उक्त काठ बरामद गरिएको हो ।

वडा प्रहरी कार्यालबाट ९ भदौमा खटिएको प्रहरी टोलीले सो स्थानमा चेकजाँच गर्दा साल र लिप्टिसका ६३ कडी काठ बरामद भएको उनले बताए । तस्करीमा संलग्नको खोजी भइरहेको प्रवक्ता बस्नेतले बताए । बरामद भएको काठ डिभिजन बन कार्यालय धनगढीमा पठाइएको छ ।

Featured