देश

बुटवलका मासु पसलमा अनुगमन, अधिकांश फोहोर

बुटवल, भदौ ११–बुटवलका मासु तथा अन्य पसलमा जिल्लास्थित अनुगमन समितिले बुधबार अनुगमन गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय बुटवल तथा जिल्ला भेटनरी कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मापदण्ड विपरीत पसल सञ्चालन भएको पाइएको छ । बुटवलको नेपालगञ्ज रोड र भुड्कीचौकमा रहेका मासू पसलले मापदण्ड विपरित खुल्ला रुपमा अस्वस्थकर रुपमा मासु बिक्री गर्ने गरेको भेटिएको अनुगमन समितिले जनाएको छ । खुल्ला र नालीको माथिपट्टी मासु र माछा काटेर बिक्री गर्ने गरेकाले सुधार गर्न निर्देशन दिइएको उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख रुद्रप्रसाद ज्ञवालीले बताए ।

उनले मासुजस्तो संवेदनशील व्यवसायमा लापरवाही बढि देखिएको बताए । बुटवल सुख्खानगर जाने बाटोको खुल्ला रुपमा नालीको माथिपट्टी माखा भन्काएर मासू र माछाको व्यापार गर्ने गरेको पाइएको उनले बताए । अधिकांश मासू पसलले खरिद र बिक्री गरेको बिलसमेत काटेका छैनन ।

अनुगमन समितिले बुटवलका मुख्य बजार क्षेत्रका व्यापारिक पसलहरुको समेत अनुगमन गरेको छ । मासु पसलसँगै ग्याँसपसल, कपडा, इलेक्ट्रोनिक पसलहरुमा समेत अनुगमन गरिएको छ ।