देश

कम्युनिस्टले लोकतन्त्रमाथि धावा बोले :देउवा

काठमाडौं, भदौ ११–पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राज्यका हरेक अंगमा हस्तक्षेप गरेर जनताका अधिकारलाई नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनले बुधबार राजधानीमा आयोजना गरेको प्रेस युनियनको व्यवस्थापन, मूल्याङ्कन र योजनासम्बन्धी एक दिने गोष्ठीको उद्घाटन गर्दै सभापति देउवाले सरकारले मिडियामा हस्तक्षेप बढाएर लोकतन्त्र नै खोस्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।

‘यो कम्युनिस्टको सरकार हो भनेर विश्वास नगर्नुस्’ देउवाले भने, ‘उनीहरुले कम्युनिस्ट स्टेट बनाउन लागिसके ।’ उनले मानवअधिकार, प्रेस स्वतन्त्रता, सेना र न्यायालयमा समेत सरकारले हस्तक्षेप गर्न थालेको आरोप लगाए ।

उद्घाटन कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्रप्रसाद रिजालले कार्यवाहक प्रधानमन्त्रीप्रति विश्वास नभएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेशी अस्पतालमा उपचार गराउँदा समेत आफंैले मुलुक चलाउन खोजेको टिप्पणी गरे ।

‘राष्ट्रिय मानवअधिकार आयोगलाई महान्यायाधीवक्ताको सरकारी वकिलको मातहत राख्न खोजिँदैछ,’ डा. रिजालले भने, ‘मिडिया काउन्सिल विधेयकप्रति संचारकर्मीको ध्यान गए पनि सूचना प्रविधि विधेयक मिडियाको लागि झन् डरलाग्दो छ ।’

पूर्वसंचारमन्त्री समेत रहेका नेता रिजालले सरकारले देश र जनताको पक्षमा काम गर्नेभन्दा हरेक क्षेत्रमा आफ्नो हस्तक्षेप बढाउँदै लगेका कारण सरकार असफल हुने निश्चित रहेको ठोकुवा गरे । उनले ओली सरकार असफल भए पनि सफल हुने शक्ति कुन आउने हो भन्ने अन्योल भएको दाबी गरे ।

Featured