देश

नमोबुद्धमा ८ इँटा उद्योगमा डोजर

काभ्रे, भदौ ११–काभ्रेको नमोबुद्ध नगरपालिकाले भकुण्डेबेंसीमा सञ्चालित आठवटा इँटा उद्योग व्यवसायीकै सहमतिमा भत्काएको स्पष्ट पारेको छ । उद्योगीहरूले नगरपालिकाले बलजफ्ती उद्योगमा डोजर लगाएको भन्दै पत्रकार सम्मेलनमार्फत आपत्ति जनाइरहेका बेला नगर प्रमुख टंकप्रसाद शर्माले उद्योगीले केही दिनअघि प्रतिबद्धता जनाएर करारनामा गरेको र पछि आफैं सहमति उल्लंघन गरेकाले बाध्य भएर भत्काउनुपरेको बताएका छन् ।

इँटा उद्योगी र नगरपालिकाबीच पटक–पटक भएका वार्ता र २०७५ पुस २७ गते व्यवसायीले जनाएको प्रतिबद्धताअनुसार नै उद्योग भत्काइएको प्रमुख शर्माले बताए । ‘उनीहरूले असार मसान्तभित्र आफैं भत्काउने र नभत्काए नगरपालिकाले भत्काउने र नगरपालिकाले भत्काउँदा लागेको खर्चसमेत उद्योगीले नै तिर्ने गरी करारनामा भएको छ,’ उनले भने, ‘त्यही डकुमेन्ट र प्रतिबद्धताका आधारमा उद्योग भत्काएका हौं ।’

वातावरण विभागको अनुगमनमा पनि हाल भत्काइएका उद्योग वातावरणीय प्रभाव मूल्यांकन नगरी स्थापना भएको पाइएको नगरपालिकाले जनाएको छ । अस्ट्रेलियन संस्थाको सहयोगमा ग्रिन सिटी निर्माणमा जुटेको नगरपालिकाले एक किलोमिटरभित्र रहेका ६ वटा इँटा उद्योग र अन्यत्रका दुईवटा इँटा उद्योग उद्योगीकै सहमति र करारनामामा टेकेर भत्काएको उनले स्पष्ट पारेका छन् । ‘यस विषयमा हामीले सबै सरोकारवाला सरकारी निकायलाई लिखित जानकारी गराएका छौं,’ नगर प्रमुख शर्माले भने, ‘उहाँहरू बरू आफ्ना प्रतिबद्धता भुल्दै स्थानीय तहलाई बेवास्ता गर्ने र प्रधानमन्त्री कार्यालयसम्म डेलिगेसन जानेतिर लाग्नुभयो ।’ स्थानीय सरकारलाई बेवास्ता गर्नु उद्योगीहरूको अर्को गल्ती भएको उनको भनाइ छ । यद्यपि नगरपालिका औद्योगीकरणको विरोधी नभएको उनले स्पष्ट पारे । व्यवस्थित औद्योगीकरणका लागि नगरपालिकाले काम गरिरहेको नगर प्रमुख शर्माको भनाइ छ ।

नेपाल इँटा उद्योग महासंघले भने काठमाडौंमा पत्रकार सम्मेलन गरी उद्योग भत्काइएको विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष महेन्द्र चित्रकारले तहसनहस पारिएका उद्योगमा रहेका भौतिक संरचना, चिम्नी, पाकेका इँटा, कामदारहरुको बासस्थान र कार्यालय भवन आदिमा कम्तीमा १० करोडको क्षति भएको बताए ।

पत्रकार सम्मेलनमा अभिभावक छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले महासंघको आग्रहमा वर्तमान सरकारले हरेक पालिकामा साना उद्याग ग्राम स्थापना गर्ने निर्णय कार्यान्वनयन गरी उद्योगलाई व्यवस्थित पार्नुको साटो नमोबुद्ध नगरपालिकाले व्यक्तिगत इविका कारण उद्योग तहसनहस पारेको भन्दै निन्दा गरे ।

इँटा उद्योगी व्यवसायी संघ काभ्रेका अध्यक्ष जितेन्द्र खायामलीले इँटा उद्योगले सिर्जना गरेका आर्थिक अवसरका कारण विकास भएको भकुण्डेबेंसी बजारमा त्यहीँका मेयरले इँटा उद्योगमा आक्रमण गराउनुको पछाडि व्यक्तिगत विषय रहेको आरोप लगाए ।

Featured