देश

प्रहरीकै अगाडि कटुवा पेस्तोल फालेर फरार

जनकपुर, भदौ ११–धनुषामा चेकजाँच गर्ने क्रममा एक थान कटुवा पेस्तोल बरामद भएको छ । धनुषाको औरही गाउँपालिका ३ बिकमपुर स्थित सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र सिंह धामीको नेतृत्वमा खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बुधबार कटुवा पेस्तोल बरामद गरेको हो ।

सशस्त्र प्रहरीले जाँच गरिरहेको देखेपछि बी आर३२जी एच ७६२ भारतीय नम्बर प्लेटको गाडीमा सवार उनीहरू मोटरसाइकल र हतियार फालेर फरार भएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजु उप्रेतीले जानकारी दिए ।

औरहीबाट बालगंगातर्फ आउँदै गरेका उनीहरूले पेस्तोल पनि त्यहीँ फालेका थिए । फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले जनाएको छ ।