देश

राष्ट्रिय जनता पार्टीद्धारा मेयर विरुद्ध वीरगञ्जमा प्रदर्शन

जनकपुर, भदौ ११–वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको विरोधमा राष्ट्रिय जनता पार्टी (राजपा)ले आज वीरगञ्जमा प्रदर्शन गरेको छ ।

नगरको विकास र नगरवासीको हितमा काम गर्न नसकेको आरोप लगाउँदै राजपा नेपालले सरावगीको विरोधमा प्रदर्शन गरेको हो । वीरगन्जमा नगर प्रमुख सरावगीको विरोधमा नाराबाजी गर्दै जुलस निकालिएको थियो ।

घण्टाघर छेउको लालबंगला परिसरबाट निकालिएकोे विरोध जुलुशमा सहभागी नेता तथा कार्यकर्ताले नगर परिक्रमापछि मेयर सरावगीलाई ज्ञापनपत्र बुझाएका छन् । जुलुसमा मेयरलाई मच्छरको आकृतिमा राखिएको थियो ।

ज्ञापनपत्रमा राजपाले दुई वर्षको कार्यकालमा वीरगन्ज महानगरमा भौतिक विकास निर्माणका काम नभएको, विकास निर्माणका योजना अलपत्र पारिएको, महानगरको सामुदायिक विद्यालयमा सुधार गर्नुको सट्टा नगर प्रमुख सरावगीले हस्तक्षेप गरी झन धरासायी बनाएको, नगरवासीलाई सेवा सुविधा दिनको सट्टा करको भार मात्रै थोपार्ने काम गरेको आरोप लगाइएको छ ।

नगर प्रमुख सरावगीले महाननगरमा रहेका सार्वजनिक जग्गा र सम्पतिको संरक्षण गर्न नसक्दा भूमाफियाहरुले कब्जा गर्ने चलखेल गरिरहेको आरोप पनि राजपाले लगाएको छ । नगर प्रमुख सरावगीलाई ज्ञापनपत्र बुझाएपछि राजपाले महानगरपालिकाको मुल प्रवेशद्वारमै कोणसभा गरेको छ ।

कोणसभालाई सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले दुई वर्षको कार्यकालमा नगर प्रमुख सरावगीले आफनो र आफ्ना पार्टीका नेता कार्यकर्ताको गोजी भर्ने बाहेक नगर र नगरवासीको हितमा केही गर्न नसकेको आरोप लगाए । नगरमा तत्काल सुधार नगरिए नगरपालिका ठप्प पार्ने उनले चेतावनी समेत दिए ।

कोणसभामा राजपाका सहमहासचिव निजामुदिन समानीले व्यापारिक क्षेत्रबाट आएका नगर प्रमुख सरावगीले जनप्रतिनिधीको भूमिका निर्वाह गर्न नसकेको खाली पैसाको गोलमाल गरेको आरोप लगाए । समाजवादी पार्टी र राजपाबीच एकीकरणको चर्चा चलिरहेको बेला राजपाले यसप्रकारको विरोधको कार्यक्रम गरेको हो ।