खेलकुद

बगर सम्याएर खेलमैदान निर्माण

म्याग्दी, भदौ ११–म्याग्दीको मंगला गाउँपालिका, ५ अर्मनको पीपलबोटस्थित कैलाशफाँटमा बगर सम्याएर खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्याएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ १२० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिका स्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले बताए ।

प्याराफिट, घेराबार निर्माण र बीचमा रहेको विद्यु्तको पोल विस्थापित गरेपछि खेलमैदान सञ्चालनमा ल्याउन सकिने कँडेलले बताए । उनका अनुसार खेलमैदान निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत १५ लाख रूपैयाँ विनियोजन गरेको थियो ।

मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट बगर सम्याउनुका साथै म्याग्दी नदीको किनारमा १२० मिटर लामो ग्याबियन पर्खाल निर्माण गरिएको कँडेलले बताए । व्यवस्थित खेलमैदान अभावमा खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो ।

खेलाडीले खेलअभ्यास गर्न समस्या थियो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकुद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकुदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताए । अधिकांश बस्तीमा दुई वर्षको अवधिमा खेलमैदान बनाएको अध्यक्ष रोकाले बताए । (रासस)

Featured