देश

प्रदेशको नाम र राजधानीका विषयमा कलाकार/साहित्यकारको चिन्ता

जनकपुर, भदौ ११–प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रस्ताव दर्ता भइसकेको अवस्थामा कलाकारहरुले दलहरुलाई आफ्नो अनुकुल नामाकरण गराउन दवाब श्रृजना गर्ने भएका छन् ।

प्रदेशको नामाकरणका लागि प्रदेशसभा सचिवालयमा दलहरुले मिथिलालाई बेवास्ता गरेको भन्दै कलाकार, साहित्यकारहरुले दबाब श्रृजना गर्न लागेका हुन् । मिथिला नाट्य कला परिषदको आयोजनामा भएको कार्यक्रममा कलाकार, साहित्यकारलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले दलहरुले यहाँको ऐतिहासिकता नबुझेर नामाकरणको प्रस्ताव गरेको आरोप लगाए ।

राजनीतिज्ञ एवं साहित्यकार रोशन जनकपुरीले २ नम्बर प्रदेशका लागि मधेश शब्द यथार्थ बनिसकेकाले मिथिला र भोजपुरालाई त्यस नाउँमा छोड्न नमिल्ने बताए । मिथिला र भोजपुरा यहाँको संस्कृति भएकोले संस्कृतिलाई छोडेर अगाडी जानुले दलहरुमा रहेको अज्ञानता प्रष्ट्याएको बताए । उनले यसको समाधानका लागि मिथिला र भोजपुरा संस्कृतिसँगै मधेशलाई पनि जोडेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

नेकपाका नेता एवं लेखक शितल झाले यस प्रदेशको ऐतिहासिकता र पौराणिकता मिथिलाले नै झल्काउने भएकाले यसविरुद्ध कार्य गर्नु अनुचित हुने बताए । दलहरुले ल्याएको अहिलेका प्रस्तावहरु अधार्मिक, अपौराणिक र अऐतिहासिक रहेको उनको भनाई थियो ।

नेता झाले मधेशको २२ वटै जिल्ला समेटिएको भए आफूहरुलाई मधेश शब्द स्वीकार्य हुने तर विशुद्ध रुपमा मिथिला क्षेत्र रहेको यी ८ वटा जिल्लालाई मात्रै मधेश नामाकरण गरिए मान्य नहुने बताए । राजपाका नेता कृष्णा कुमार सिंह मधेश पार्टीको एजेण्डा रहेकोले यसलाई छोड्न नमिल्ने तर्क गरे । उनले मधेश पार्टीको एजेण्डा रहेपनि आफू मिथिलाको बिरोधी नरहेको स्पष्ट पारेका थिए ।

अहिले पनि समय रहेको यी सबैको मिलन बिन्दु के हुन सक्छ त्यसमा छलफल गर्नका लागि सबै पक्षलाई आग्रह गरे । मिनापका अध्यक्ष प्रमेश झाले मिथिलाको पक्षमा माहौल बनाउन चाँडै लबिइङ गर्ने जानकारी दिएका छन् । उनले प्रदेशको नाममा मिथिला नछुटाउने गरी दवाब श्रृजना गर्ने दावी गरे ।