देश

५० स्थानीय तहमा उपनिर्वाचन हुँदै

काठमाडौं, भदौ ११–निर्वाचन आयोगले आगामी १४ मंसिर २०७६ मा ३५ जिल्लाका ५० स्थानमा उपनिर्वाचन गर्दैछ । प्रतिनिधिसभा सदस्यका लागि एक, प्रदेशसभा सदस्यका लागि तीन, स्थानीय तहको नगर प्रमुखको लागि एक, गाउँपालिका अध्यक्षका लागि तीन, गाउँपालिका उपाध्यक्षको लागि एक र वडाध्यक्षको ४१ स्थानमा निर्वाचन हुन लागेको हो । ५० जना जनप्रतिनिधिको निधनका कारण ती स्थान रिक्त छन् ।

जनप्रतिनिधिको निधनका कारण प्रदेश ५ का ११ स्थानमा र प्रदेश २ का १० स्थानमा उपनिर्वाचन हुन लागेको छ । कर्णाली प्रदेशमा भने २ स्थानको लागि मात्र उपनिर्वाचन हुन लागेको हो ।

गण्डकी प्रदेशको कास्की जिल्ला २ बाट प्रतिनिधिसभामा निर्वा्चित सांसद तथा तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको गत १५ फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि सो क्षेत्र खाली छ ।

त्यस्तै, गण्डकी प्रदेशको बाग्लुङ २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २, प्रदेश ३ को भक्तपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र १ र प्रदेश ५ को दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । प्रतिनिधिसभा र प्रदेशसभाका यी चारै स्थानमा नेकपा उम्मेदवार विजयी भएका थिए ।

उपनिर्वाचनमा सुनसरीको धरान नगरपालिका प्रमुखको लागि, पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षको लागि र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षको लागि निर्वाचन हुँदैछ ।

धरान उपमहानगरको ७ नंम्वर वडा र घोराही उपमहानगरको १६ नम्वर वडाको वडाध्यक्ष तथा १९ वटा नगरपालिकाको वडाध्यक्षको लागि उपनिर्वाचन हुँदैछ । यस्तै गाउँपालिकाका २० वटा वडाध्यक्ष चयनको लागि निर्वाचन हुनेछ ।

प्रदेश १ का पाँच जिल्लाको ९ स्थानमा, प्रदेश २ को सात जिल्लाका १० स्थानमा, प्रदेश ३ का ६ जिल्लाका ६ स्थानमा, गण्डकी प्रदेशका तीन जिल्लाको ३ स्थानमा, प्रदेश ५ का सात जिल्लाका ९ स्थानमा, कर्णाली प्रदेशको दुई जिल्लाका २ स्थानमा र सूदुरपश्चिम प्रदेशको ५ जिल्लाका ७ वडाध्यक्षको लागि उपनिर्वाचन हुँदैछ ।

प्रदेश १

पाँचथरको फिदिम नगरपालिका वडा नं १, हिलिहाङ गाउँपालिका वडा नं. ७, मोरङको धनपालथान गाउँपालिका वडा नं २, धरान उपमहानगरपालिकाको वडा नं ७, संखुवासभाको खाँदबारी नगरपालिकाको वडा नं २ र खोटाङको साकेला गाउँपालिका वडा नं ३ मा वडाध्यक्षको लागि उपनिर्वाचन हुनेछ ।

प्रदेश २

प्रदेश २ को सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नं ७, सिरहाको कल्याणपुर नगरपालिका वडा नं १२, महोत्तरीको बलवा नगरपालिका वडा नं २ र ८, मटिहानी नगरपालिकाको वडा नं ६, सर्लाहीको हरिपूर्वा नगरपालिकाको वडा नं १, रौतहट जिल्लाको गढीमाई नगरपालिकाको वडा नं २, बाराको बारागढी गाउँपालिकाको वडा नं १ र पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं ५ मा वडाध्यक्षको लागि उपनिर्वाचन हुनेछ । महोत्तरीको पिपरा गाउँपालिकामा भने अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

प्रदेश ३

प्रदेश ३ को रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा नं ५, सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ८, काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं २, काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं ३, चितवनको खैरहनी नगरपालिका वडा नं ४ र ५ मा वडाध्यक्षको लागि उपनिर्वाचन हुनेछ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको लमजुङ जिल्लाको सुन्दरवजार नगरपालिका वडा नं २, बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं २ र पूर्वी नवलपरासी जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं ५ मा वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रदेश ५

प्रदेश ५ को गुल्मी जिल्लाको रुरु क्षेत्र गाउँपालिकाको वडा नं ६, अर्घाखाँचीको मालारानी गाउँपालिकाको वडा नं ३, प्युठान जिल्लाको प्युठान नगरपालिकाको वडा नं २, सोही जिल्लाको ऐरावती गाउँपालिकाको वडा नं १ र २, रोल्पाको थवाङ गाउँपालिकाको वडा नं १, घोराही उपमहानगरपालिकाको वडा नं १६, कपिलबस्तुको शिवराज नगरपालिकाको वडा नं १० र वाँकेको कोहलपुर नगरपालिकाको वडा नं ६ मा वडाध्यक्षको लागि उपनिर्वाचन हुनेछ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नं ६ मा वडाध्यक्षको लागि निर्वाचन हुँदैछ ।

सुदुरपश्चिम प्रदेश

सूदुरपश्चिमको बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं १, अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ५, डोटीको आदर्श गाउँपालिका वडा नं २, कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ३, बैतडीको पुर्चौडी नगरपालिकाको वडा नं ४, सुनर्या गाउँपालिकाको वडा नं १ र दोकडाकेदार गाउँपालिकाको वडा नं ४ को वडाध्यक्षको लागि निर्वाचन हुँदैछ ।

तिङलामा उपनिर्वाचन नहुने

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा सोलुखुम्वु जिल्लाको नेचा सल्यान गाविस वडा नम्वर ६ को तिङ्लामा भने निर्वाचन नै भएन । जहाँ एक जनाले पनि मतदान गरेनन् । जसले गर्दा सो स्थानमा उपनिर्वाचनमा समेत नसमेटिने भएको छ ।

निर्वाचन कानून अनुसार वडासदस्य र जिल्ला समन्वय समितिका सदस्य तथा गाउँ तथा नगर कार्यसमितिका सदस्यको निधन भएमा उपनिर्वाचन हुने व्यवस्था छैन । निर्वाचन नभएको स्थानमा वा जनप्रतिनिधिले स्थानीय तहबाट राजिनामा दिएमा वा विदेश गएमा के हुने भन्ने समेत कानुनमा स्पस्ट छैन । जसका कारण राजिनामा दिएर बिदेश पलायन भएका स्थानीय तहले भने उपनिर्वाचनमाफृत पनि जनप्रतिनिधि नपाउने भएका छन् ।