विदेश

जेफ्री एप्स्टिन प्रकरणः यौन दुर्व्यवहारबारे इमान्दार बन्न राजकुमार एन्ड्रुलाई आग्रह

एजेन्सी, भदौ ११–जेलमा रहेका धनाढ्य व्यापारी एवं लगानीकर्ता जेफ्री एप्स्टिनले आत्महत्या गरेपछि उनीमाथि यौन दुर्व्यवहारको मुद्दा के हुने भन्ने विवाद कायमै छ ।

यसै क्रममा उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाउने एकजना महिलाले आफू १७ वर्ष हुँदा राजकुमार एन्ड्रुसँग यौन सम्बन्ध राख्न बाध्य पारिएको बताएकी छन् । उनले यस विषयमा पूर्ण रूपमा इमान्दार हुन आग्रह गरेकी छन्।

एप्स्टिनको यसै महिनाको सुरुमा मृत्यु भएपछि पहिलो पटक यौन दुर्व्यवहारको मुद्दामा सुनुवाई भएको हो । सुनुवाईपछि बोल्दै पीडितहरू मध्येकी एक भर्जि्निया जुफ्रीले भनिन्, ‘उनले के गरेका थिए भन्ने उनैलाई थाहा छ ।’

ड्यूक अफ योर्कले यअसघि देखि नै आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । एप्स्टिनले यो महिनाको सुरुमा नै थुनामै रहेका बेला आत्महत्या गरेको मृत्युको अनुसन्धान गर्ने अधिकारी कोरोनरले बताएका छन् । उनीविरुद्ध षडयन्त्र गरेको र यौन तस्करी गरेको मुद्दाको सुनुवाइ हुनै लाग्दा उनको मृत्यु भएको हो।

६६ वर्षीय धनी र शक्तिशाली व्यापारी एप्स्टिनले कुनै समयमा राष्ट्रपति डोनल्ड ट्रम्प, पूर्व राष्ट्रपति बिल क्लिन्टन र राजकुमार एन्ड्रु आफ्ना साथी भएको बताएका थिए ।

न्यूयोर्क्स्थित एक अदालतमा यौन दुव्र्यवहारका पीडित १५ जनालाई आफ्नो विषय राख्ने मौका दिइएको थियो । एप्स्टिनको मृत्युसँगै उनीविरुद्धको आपराधिक मुद्दाको सुनुवाइ भने बन्द भएको छ।

यद्यपि उनीमाथि आरोप लगाउनेहरुले उनले आत्महत्या गरेर दोषबाट उम्किएको टिप्पणी गरेका छन् । अभियोजनकर्ताहरूले भने अनुसन्धान जारी रहेको र उनीविरुद्धको अभियोगमा कुनै अरूको मिलेमतो भए तिनीहरूविरुद्ध अझै पनि मुद्दा चल्न सक्ने बताएका छन्।

Featured