देश राजनीति

मुख्यमन्त्री पोखरेलले माओवादीका मन्त्री हटाउने, सत्ता साझेदारीका लागि जसपालाई प्रस्ताव

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई मन्त्रीलाई हटाउने तयारी गरेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराललाई हटाउने तयारीमा मुख्यमन्त्री पोखरेल छन् ।

सोमबार आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर संकलन गरेको सूचना पाएपछि पोखरेलले दुवै मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने गृहकार्य सुरु गरेका छन् । सोमबार साँझ जनता समाजवादीका सचेतक सन्तोषकुमार पाण्डेयलाई भेटेर पोखरेलले सत्ता साझेदारीका लागि प्रस्ताव गरेका थिए ।

नेकपा एमालेका सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्रीले दुई मन्त्री हटाउने तयारी गरेको पुष्टि गरे । ‘आजै वा भोलिसम्ममा केही निर्णय आउन सक्छ,’ उनले भने ।

माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले मन्त्रीहरूले राजीनामा दिने विषयमा दलमा सल्लाह नभएको भए पनि घटनाक्रमअनुसार आजै पार्टीका मन्त्रीहरूले राजीनामा दिने बताए ।

‘हिजोका घटनाक्रमले सम्भवत: आज दुई मन्त्रीको राजीनामा आउने सक्ने सम्भावना छ,’ घर्तीले भने, ‘राजीनामा आउनासाथ हामी अरु दलहरूसँग छलफल गर्नेछौँ ।’

सामाजिक विकासमन्त्री सुदर्शन बरालले आफूहरू राजीनामाका लागि मानसिक रूपमा तयार भएको प्रतिक्रिया दिए । हिजोको मन्त्रिपरिषदमा राजीनामाबारे छलफल भएको उनले बताए । राजनीतिक घटनाक्रमअनुसार आजै राजीनामा आउन सक्ने वा मुख्यमन्त्री पोखरेलले नै हटाउन सक्ने उनले संकेत गरे ।

Featured