NRNA खबर देश विदेश

मस्कोमा वरिष्ठ साहित्यकार स्व. कृष्ण प्रकाश श्रेष्ठको अन्तिम बिदाई कार्यक्रम सम्पन्न

मस्को, २४ चैत । रुसको राजधानी मस्कोमा वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ को स्वर्गारोहण भएको पाचौं दिनमा उनको पार्थिव शरीर लाई अन्तिम बिदाई गरिएको छ । मस्कोको दक्षिण पश्चिममा रहेको खाभान्सकी शबदाहन केन्द्रमा स्वर्गीय श्रेष्ठको अन्तिम विदाईका लागी उनकी दुई छोरी र पारिवारसहित विश्व नेपाली साहित्य महासंघ रुस शाखा र गैर आवासिय नेपाली संघ रुसका पदाधिकारीहरु जम्मा भएका थिए ।

त्यहाँ बाकसमा राखिएको उनको पार्थिव शरीरमा दुई छोरीहरु झान्ना र मारिना ले फुल गुच्छा राखी अनि दियो बाली अन्तिम हृदयविदारक भावपूर्ण सम्बोधन गरेका थिए । त्यसैगरि विश्व नेपाली साहित्य महासंघ रुस शाखा र गैर आवासिय नेपाली संघ रुसका प्रतिनिधिहरुले पनि भावपूर्ण सम्बोधनमा स्वर्गीय कृष्ण प्रकाश श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै स्वर्गबास होस् भन्दै अन्तिम बिदाइ गरेका थिए ।

त्यसपछि सबैको उपस्थितिमा वहांको पार्थिव शरीर भएको बाकस लिकमा राखी दाहन कक्षमा पठाइए पछि सबै आ–आफ्ना आँशु पुछ्दै फर्किए । सोहीदिन साँझ नेपाली दुताबासमा आयोजना गरिएको शोक सभा विश्व नेपाली साहित्य महासंघका केन्द्रिय सचिव डा. मन मुर्ति भुर्तेलले शोकमा भावविभोर हुदै संचालन गरेका थिए ।

सुरुमा रुसबासी नेपालीहरुका मित्र तिब्बती लामा डिग खाम्बो दाशिनिमाले स्वर्गीय कृष्ण प्रकाश श्रेष्ठको आत्माको चिर शान्तिको लागि बुद्ध मन्त्र उच्चारण गरेका थिए । त्यसपछि रुसका लागि नेपालका कार्यबाहक राजदुत खिमानन्द भुसालले नेपाली भाषा साहित्य र संस्कृतिको विकास र प्रबद्र्धनमा दिवंगत कृष्ण प्रकाश श्रेष्ठको योगदानहरु उल्लेख गर्दै शोक मन्तब्य व्यक्त गरे ।

संचालक डा. भुर्तेल ले कार्यबाहक राजदुतको शोक मन्तव्य लाई रुसी भाषामा अनुबाद गरे पछि, स्व. कृष्ण प्रकाश श्रेष्ठका छोरी हरुले र उपस्थित रुसी मित्र हरुले बुझुन भन्ने अभिप्रायले मुख्यतया रुसी भाषा मै कार्यक्रम संचालन गरेका थिए ।

श्रद्धान्जली कार्यक्रममा वक्ताहरु क्रमशः रुसी अंतरिक्ष यात्री (एबं दुई पटक सोभियत संघको हिरो नामक उच्च पदक द्वारा सम्मानित ) भ्लादिमिर अलेक्सान्द्रभिच झान्निबेकोव, पिपल्स फ्रेन्डशिप विश्व बिद्ध्यालय मस्कोका भालेरी अलेक्सेइभिच बेलोभ, गैर आबासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष डा. बद्रि केसी, मस्को लेखक संघबाट प्रसिद्ध कवियत्री तात्याना चेग्लोभा, रुस नेपाल मैत्री संघ का अध्यक्ष मिखाइल सेर्गेइभिच निक्रासोभ, गैर आबासीय नेपाली संघ रुसका अध्यक्ष शिव मणि भुर्तेल, रुसी बैंकर एवम् नेपाल प्रेमी एभ्गेनी फ्योदोरोभिच कोजारेजोव, भारतबर्ष अनुसन्धान केन्द्र एवम् प्राच्य बिज्ञान संस्थानबाट एभ्गेनिया भागिना, मस्कोबासी नेपाली समुदायको तर्फ बाट डा. ऋषि कान्त मण्डल, रुस नेपाल मैत्री संघ बाट नेल्ली पान्तेलेइभ्ना स्तेपानोभा, तात्याना उबुशाएभा केसी र अलेक्सान्दर व्सेभोलोदोभिच सोलोविएभ, रुसी लेखक संघबाट भिक्टर पाभ्लोभिच जुएभ र पारिवारिक मित्र हरुको तर्फ बाट डा. भिष्म आचार्यलगायत सबैले स्वर्गीय कृष्ण प्रकाश श्रेष्ठलाई व्यक्तिगत, पेशागत र साहित्यिक रुपमा सम्झिदै उनको योगदान हरुको चर्चा गर्दै अनि दिबंगत आत्मा को चिर शान्तिको कामना गर्दै भावपूर्ण शोक मन्तव्य व्यक्त गरेका थिए ।

साथै, नेपाली दुताबासमा स्व. कृष्ण प्रकाश श्रेष्ठको ठुलो फोटो संगै शोक पुस्तिका पनि राखिएको थियो । उपस्थित सबैले स्वर्गीय कृष्ण प्रकाश श्रेष्ठको तस्बिरमा फुल अर्पण गरेर श्रद्धान्जली दिदै आ–आफ्ना भावपूर्ण अभिव्यक्तिहरु शोक पुस्तिकामा लिपिबद्ध गरेका थिए ।

 

मस्कोमा बरिस्ठ लेखक, कबि, समालोचक, अनुवादक, संस्कृतिबिद, बहुमुखी प्रतिभाका धनि ८२ बर्षिय अथक स्रस्टा स्व. कृष्ण प्रकाश श्रेष्ठको नेपाली भाषा साहित्य र संस्कृतिको विकास र प्रबर्धनमा अतुलनिय योगदानको उच्च कदर गर्दै उनले थालेका अधुरा कामहरु सम्पन्न गर्ने प्रतिबद्धताका साथ अन्तिम बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

Featured