देश

लुम्बिनी प्रदेशका ३ सयभन्दा बढी स्थानमा आगलागी

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गरी ३ सयभन्दा बढी स्थानमा आगलागी भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशका महाभारत र चुरे पहाडहरूमा पछिल्लो एक सातादेखि आगलागी भइरहेको हो ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वातावरण महाशाखा प्रमुख डिलाराम पौडेलले लुम्बिनी प्रदेशका महाभारत र चुरे हालसम्म प्रदेशभरका वनमध्ये ३ सय ६८ स्थानमा आगलागी भएको जानाकारी दिए । आगलागी १८ हजार ५ सय ८६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पछिल्लो चार दिनमा मात्र थप ९२ स्थानका ३ हजार २ सय ३७ हेक्टर क्षेत्रफलमा डढेलो फैलिएको उनले जानाकारी दिए ।

सबैभन्दा बढी अर्घाखाँचीका वनका ६८ वटा स्थानमा ९ हजार ७ सय १५ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । त्यस्तै, दाङमा ६६ स्थानमा ७ सय ७५ हेक्टरमा आगलागी भएको छ ।

त्यस्तै गुल्मीमा २०, रोल्पामा १ सय ५०, पूर्व रुकुममा २०, नवलपरासीमा १ हजार १ सय १७, रुपन्देहीमा २ हजार ६ सय ८३ हेक्टर क्षेत्रफलमा आगलागी भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

यसैगरी, पाल्पामा ८ सय ८, गुल्मीमा १ हजार ६ सय २५, कपिलवस्तु ६ सय ४ बर्दियामा १ सय ६८ र प्युठानमा ८ सय ८२ हेक्टरमा आगलागी भएको मन्त्रालयले जनाएको छ ।

डढेलोबाट प्रदेशमा हालसम्म दुई जनाले ज्यान गुमाएका छन् । गुल्मीको धुर्काट गाउँपालिका– ७ की ९ वर्षीया बालिका र पाल्पा माथागढी गाउँपालिकाका एक पुरुषको मृत्यु भएको उनले बताए ।

मन्त्रालयका अनुसार १७ चैतसम्म २७६ स्थानमा १५ हजार ३ सय ४९ हेक्टरमा लागेको डढेलो गत शनिबारसम्म ३ सय ६८ स्थानमा १८ हजार ५ सय ८६ हेक्टरमा फैलिइसकेको छ । चार दिनमा ९२ स्थान र ३ हजार २ सय ३७ हेक्टरले डढेलो बढेको हो । ठूलो संख्यामा डढेलो लाग्दा पनि त्यसलाई निभाउन आवश्यक उपकरण नरहेको वातावरण महाशाखा प्रमुख पौडेलले बताए ।

Featured