देश राजनीति

प्रदेशसभामा सांसदकाे आरोप, ‘मन्त्रीहरू शेरधन राईको हनिमुनमा ब्यस्त भए’

विराटनगर, २३ चैत । प्रदेश १ नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जनताका काममा ब्यस्त हुनुपर्ने प्रदेश सरकारका मन्त्रीहरू मुख्यमन्त्री शेरधन राईको हनिमुनमा ब्यस्त बनेको आरोप लगाएका छन् । सोमबार हिउँदे अधिवेशनको चौथो बैठकमा उनले यस्ताे आरोप लगाएका हुन् ।

प्रमुख सचेतक कार्कीले भने, ‘जनताका काम छोडेर मुख्यमन्त्रीको हनिमुनमा सबै मन्त्री ब्यस्त हुने सरकारबारे के भनाैँ, कति भनौँ ? यतिबेला नेपाल आमाप्रति भएको पाप धुरीबाट कराइरहेको छ ।’

उनले थपे, ‘यो प्रदेशमा सरकार छैन, सरकार लाचार छ, कुर्सी नबच्ने देखेपछि मात्र मुख्यमन्त्री हराउनुभएको होला भनेको कुर्सी बच्दा पनि उहाँलाई यहाँ देखिएन । संसद् फेस गर्न नसक्ने, सांसदहरूको अनुहार फेस गर्न नसक्ने मुख्यमन्त्री भएको यो प्रदेशमा धेरै कुरा किन गरिरहने । जुँगा चल्यो, कुरा बुझियो ।’

प्रमुख सचेतक कार्कीले संघीय सरकार आपराधिक मानसिकताबाट गुज्रिएको बताउँदै प्रदेश सरकार पनि सोही पथमा अघि बढेको आरोप लगाए । जसपा सांसद रेशम चौधरीलाई छुटाउन भइरहेको प्रयासप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी ओली अपराधीको संक्षणमा लागेको उनको भनाइ छ ।

‘आपराधिक मानसिकताबाट ग्रसित संघीय सरकारको पथमा प्रदेश सरकार पनि हिँडिरहेको छ । प्रधानमन्त्री अहिले को–को अपराधी कताकता छन्, को–को लुकिरहेका छन् भनेर खाज्दै हिँड्नुभएको छ र उनीहरूलाई टीका लाउँदै बालुवाटारभित्र राखिरहनुभएको छ ।’

अहिले अपराधीहरू प्रधानमन्त्रीको शरणमा पुगेको र तिनलाई छुटाउन खोज्ने लाचार गहृमन्त्री देशमा छन् भन्दा लज्जाबोध भएको उनको भनाइ थियो ।

Featured