देश

राजेश हार्डवेयरलाई तत्‍काल ३ लाख जरिवाना, हार्डवेयरका कागजपत्रको विस्तृत अध्ययन हुँदै

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजेश हार्डवेयरलाई ३ लाख रुपैयाँ जरिवाना तिराउने भएको छ । कम तौलको फलामे डन्डी दिएर उपभोक्ता ठगेको भन्दै विभागले राजेश हार्डवेयरलाई उक्त जरिवाना गर्ने निर्णय गरेको हो ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा (१) बमोजिम तत्काल ३ लाख रुपैयाँ जरिवाना गराएको हो । तत्‍कालका लागि ३ लाख रुपैयाँ जरिवाना गराइए पनि हार्डवेयरका सम्बन्‍धमा थप अनुसन्धान गरेर कारबाही प्रकिया अघि बढाइने विभागका निर्देशक शिवराज सेढाईंले जानकारी दिए ।

डण्डी पठाउँदा तौलमा फरक पारेको भेटिएपछि शुक्रबार ग्रिल व्यवसायीको सक्रियतामा राजेश हार्डवेयरको बालाजु डिपो प्रमुख कमलकुमार शर्मालाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको थियो ।

ग्रिल व्यवसायीहरूले काठमाडौंको खरीबोट, बोहोरेटार र रानीवनमा पठाइएको सामानसहित तीनवटा गाडी प्रहरीलाई जिम्मा लगाएका हुन् ।

बढी परिमाणको बिल बनाएर कम परिमाणको सामान रहेका ती गाडीलाई शुक्रबार प्रहरीको जिम्मा लगाइएको थियो । शनिबार गुणस्तर तथा नापतौल विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उपभोक्ता अधिकारकर्मी र सुरक्षा निकायका प्रतिनिधिहरू बसेर बिल र सामान परीक्षण गर्दा कम परिमाणको सामान उपलब्ध गराएर ठगी गरिएको देखिएको थियो ।

शनिबार नियामक निकायले तौल लिने क्रममा व्यवसायीको आरोपअनुसार नै बिलमा उल्लेख गरिएको परिणामभन्दा कम तौलका डण्डीका मुठा भेटिएको थियो ।

विभागले व्यवसायीको आरोप पुष्टिगरेसँगै हार्डवेयर सिल गरेर २४ घण्टाभित्र सम्पूर्ण कागजपत्र पेस गर्न निर्देशन दिएको थियो । हार्डवेयरको कागजपत्रउपर अध्ययन गरिँदै रहे पनि आफ्नो अधिकार प्रयोग गरेर तत्कालका लागि ३ लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ।

राजेश हार्डवेयर देशकै सबैभन्दा ठूलो हार्डवेयर कम्पनी हो । यसको सञ्चालक प्रतिष्ठित व्यवसायी सुवास अग्रवाल हुन् । व्यवयासीहरूले यो हार्डवेयरमाथि बजारमा अभाव सिर्जना गरेर कृत्रिम मूल्यवृद्धि गर्ने, सिन्डिकेट गर्ने गरेको लगायतका आरोप लगाउँदै आएका छन् । केही समयअघि फलाम र डण्डीको मूल्य अस्वाभाविक रूपमा राजेश हार्डवेयरकै कारण बढेको उनीहरूको गुनासो छ ।

केही व्यवसायीको भनाइअनुसार राजेश हार्डवेयरले शुक्रबार नै व्यवसायीलाई कानुनी बाटो नखोज्न र प्रशासन नबोलाउन दबाब दिएको थियो । यद्यपि व्यवसायीले राजेश हार्डवेयरले कहिलेदेखि ठगी गरिरहेको भन्ने विषयमा गम्भीर अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । व्यवसायीहरूले लामो समयदेखि राजेश हार्डवेयरले ठगी गरेको भन्दै विस्तृत अध्ययन गरेर कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।

Featured