देश राजनीति

प्रदेश- १ को प्रदेशसभा बैठक आज, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने

विराटनगर, २३ चैत-प्रदेश- १ को प्रदेशसभा बैठक आज बस्दै छ । पटक–पटक स्थगित भएको प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्ने भएको हो । आजका लागि डाकिएको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा ९ फागुनमा टेबुल गरिएको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ । स्रोतका अनुसार अविश्वास प्रस्ताव पारित हुने अवस्था नरहेपछि सो प्रस्ताव फिर्ता हुन लागेको हो ।

बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए । सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र पूर्ववत् रूपमा ब्युँताएपछि अविश्वास प्रस्ताव पारित नहुने भएको हो ।

तत्कालीन नेकपा हुँदा प्रचण्ड–नेपाल समूहका भीम आचार्य पक्षले ३७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव १२ पुसमा दर्ता गराएका थिए । त्यसको केही समयपछि पाँच जना सांसदले हस्ताक्षर फिर्ता लिएका थिए । त्यस्तै, माओवादी सांसद टंक आङ्बुहाङ एमालेमा प्रवेश गरी आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् ।

एमाले विवाद उत्कर्षमा छ । तर, माधव नेपाल समूहका १६ जना सांसदले पनि हस्ताक्षर फिर्ता लिइसकेका छन् । उनीहरूलाई ११ चैतमा बसेको एमाले संसदीय दललको बैठकले सात दिनभित्र अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । सोही निर्णयबमोजिम नेपाल समूहका सबै सांसदले १७ चैतमा हस्ताक्ष फिर्ता लिएका छन् । एमाले सांसदले हस्ताक्षर फिर्ता लिएर अविश्वास प्रस्ताव पारित नहुने स्थिति भएपछि माओवादी केन्द्रले पनि प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ ।

Featured