देश राजनीति

कर्णाली प्रदेश : सरकार गठनको तयारीमा रहेको एमालेको संसदीय दलको बैठक आज बस्दै

नेकपा (एमाले) कर्णाली प्रदेशको संसदीय दलको बैठक आज बस्दै छ । आफ्नै नेतृत्वमा सरकार गठनको तयारीमा रहेको एमाले संसदीय दलको आजको बैठकले सो सम्बन्धमा निर्णय गर्न सक्ने बताइएको छ ।

यसअघि ४ चैतमा कर्णालीका ओली पक्षधर १० सांसदको उपस्थितीमा एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । यद्यपी माधव नेपाल पक्षधर प्रदेशसभा सांसदहरूले उक्त बैठकको विरोध गरेका थिए ।

पछिल्लो समय एमालेका प्रदेश संसदहरू एक ठाउँमा उभिएको ओली पक्षधरले बताएका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्री शाही अल्पमतमा परेको जनाउ दिइसकेका छन् ।

कर्णालीमा सरकार गठनका लागि २१ सांसद आवश्यक हुन्छ । एमालेका २० सांसद छन् । ओली र माधव नेपाल पक्ष एक ठाउँमा उभिए सरकार गठनका लागि १ सांसद आवश्यक हुन्छ । प्रदेशसभामा माओवादी केन्द्रका १३, कांग्रेसका ६ तथा राप्रपाका १ सांसद छन् ।

दिउँसो १२ बजे बस्ने बैठकले एमालेका तर्फबाट सरकारमा सहभागी भएका ३ जना मन्त्रीलाई फिर्ता बोलाउने तयारी थालेको छ । शाहीको सरकारमा प्रकाश ज्वाला आर्थिक मामिला तथा योजनामन्त्री, दलबहादुर रावल सामाजिक विकासमन्त्री र नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।

प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री रहेकालाई आजको संसदीय दलको बैठकबाट फिर्ता बोलाउने निर्णय हुने एमालेका एक सांसदले बताए ।

Featured