विदेश

अमेरिकाले भन्यो- म्यानमारका बहादुर जनताले सैन्य आतंकको युगलाई नकारे

TOPSHOT - Police run towards protesters to disperse a demonstration being held against the military coup in Yangon on March 3, 2021. (Photo by STR / AFP) (Photo by STR/AFP via Getty Images)

म्यानमारमा शनिबारको ‘आर्म्ड फर्सेज डे’ का दिन सुरक्षाबल र प्रदर्शनकारीबीच हिंश्रक झडप भएको छ । उक्त झडपमा सुरक्षा बलको गोली लागेर ९० जनाभन्दा बढी प्रदर्शनकारी मारिएका छन् ।

शनिबार म्यानमारमा भएको हिंसाको अमेरिका, ब्रिटेन तथा युरोपियन युनियनले भर्त्सना गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले बर्माको सुरक्षा बलले गरेको हिंसात्मक घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् । उनले सेनाले केही व्यक्तिको सेवा गर्नका लागि सर्वसाधारणमाथि दमन गरेको पनि बताएका छन् ।

पीडितहरूका परिवारलाई समवेदना व्यक्त गर्दै ब्लिंकनले भनेका छन्- म्यानमारका बहादुर जनताले सैन्य आतंकको युगलाई नकारेका छन् ।

स्थानीय सञ्चार माध्यमलाई उद्धृत् गर्दै सिएनएनले रक्तपातपूर्ण हिंसामा शनिबार ९० जनाको मृत्यु भएको बताएको छ । म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछिका प्रदर्शनमा पहिलो पटक एकै दिन यतिधेरै संख्यामा प्रदर्शनकारीको हत्या भएको हो । एक १३ वर्षीया बालिकाको पनि सेनाको गोली लागेर ज्यान गएको छ ।

अमरिकी दूतावासका अनुसार सुरक्षाकर्मीले ‘हतियारविहीन आम नागरिकको पनि हत्या गरिरहेको छ । सैन्य प्रमुख मिन आङ्ग लाइङ्गले शनिबार नेसनल टेलिभिजनमा आफ्नो सम्बोधनका क्रममा ‘लोकतन्त्रको रक्षा’ गर्ने बताएका छन् ।

उनले देशमा निर्वाचन गर्ने वाचा पनि गरे । यद्यपि उनले चुनाव कहिले हुने भन्ने बारे केही बताएनन् । सेनाले शनिबार म्यानमारमा अर्म्ड फोर्सेज डे मनाएको थियो । यस दिन सेनाले परेड निकालेर आफ्नो शक्ति प्रदर्शन गर्ने गर्छ ।

म्यानमारमा यसै वर्षको १ फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेपछि दिनहुँ विरोध प्रदर्शन भइरहेका छन् । सैनिक शासनविरुद्ध भइरहेको प्रदर्शनकमा अहिलेसम्म ४०० भन्दा बढी प्रदर्शनकारीको ज्यान गएको छ ।

Featured