देश

बुद्ध एयरले जनकपुर-अयोध्या उडान गर्ने

हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ ।

‘सीता-राम’ सम्बन्ध त्रेतायुगदेखि नै चलिआएको छ । यस पौराणिक, धार्मिक सम्बन्धको साक्षी जनकपुरधाम र अयोध्या शहरलाई जोड्नका लागि उडान सञ्चालनको तयारी गरिएको हो ।

बुद्ध एयरले जनकपुरबाट अयोध्यामा विस्तार भइरहेको विमानस्थलमा सिधा उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा निवेदन दिएको छ । प्रदेश नं २ सरकारलाई पनि बोधार्थ पठाइएको छ ।

तीन वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जनकपुर र अयोध्यालाई भगिनी शहरका रूपमा विकास गर्ने, रामायण सर्किट बनाउनेजस्ता सहमति भएको थियो । जनकपुरधामबाट अयोध्यामा निर्माणाधीन विमानस्थलको उडान ५० मिनेटको हुनेछ । यस उडानबाट दुवै देशका धार्मिक पर्यटकले मनग्यै लाभान्वित हुने कम्पनीको विश्वास छ ।

Featured