देश

रवि लामिछानेसहित तीनैजना धरौटीमा रिहा

चितवन,भदौ ९–पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनैजना धरौटीमा छुटेका छन् । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलेका इजलाशले लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख र अस्मिता कार्कीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको हो । आइतबारबाट जिल्ला अदालत चितवनले उनीहरुमाथि बयान लिन सुरु गरेको थियो ।

आइतबार अस्मिता कार्कीको बयान सकिएको थियो । सोमबार लामिछानेसहित कँडेलको बयान सकिनासाथ सुरु भएको थुनछेक बहससमेत आजै सकिएपछि जिल्ला अदालत चितवनले उनीहरु तीनै जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । शुक्रबार प्रहरीले रविसहित तीनै जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवानाको माग गरेर अदालतमा अभियोग पेस गरेको थियो ।

रविसहित तीनै जना १० दिनअघि काठमाडौंबाट पक्राउ परेका थिए । २० साउनमा पत्रकार शालिकराम पुडासैनीले चितवनको कंगारु होटलमा झन्डिएर आत्महत्या गरेका थिए । आत्महत्या गर्नु अघि उनले रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेलको कारण आत्महत्या गरेको भन्दै भिडियो रेर्कड गरेका थिए । सोही भिडियोका कारण उनीहरु पक्राउ परेका थिए ।

Featured